स्याङ्जा प्रहरीले ज्यानसम्बन्धी कसुरमा ६ जना पक्राउ


वालिङ, २५ पुस । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ज्यान सम्बन्धी कसुरमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा आँधिखोला गाउँपालिका वडा नं १ बस्ने २७ वर्षीय सूर्य भन्ने भिम बहादुर सुनार, १८ वर्षीय सुनिल विक, २४ वर्षीय दिनेश भन्ने रेवत पौडेल, ३७ वर्षीय धन बहादुर विक, २४ वर्षीय गोविन्द भन्ने फुननारायण अधिकारी र २८ वर्षीय साजन कामी रहेका छन ।
पुस २० गते राति अन्दाजी १० बजे स्याङ्जाको आँधिखोला गाउँपालिका १ कालिखर्क जंगलमा सात जना व्यक्तिहरु अवैध भरुवा बन्दुक लिई वन कुखुरा मार्न भनि जाँदा सोही ठाउँ बस्ने २७ वर्षीय मनोज विकको उक्त भरुवा बन्दुकको छर्रा (गोली) लागि घटनास्थलमै मृत्यु भएपश्चात फरार रहेका उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
विभिन्न समयमा पक्राउ परेका उनीहरुलाई ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्धा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थालबाट एक नाले भरुवा बन्दुक १ थान, २ ग्राम बारुद, २४ थान सिसाको छर्रा, र ३० बट्टा सलाई बरामद गरेको बताएको छ ।






















