सप्तरीमा छोराको मोहले गर्भपतन गराउनेकाे संख्या बढ्दाे


सप्तरी, पुस २५ । राजविराज नगरपालिका-१६ की ३५ वर्षीया विमला यादव (नाम परिवर्तन) एक छोरा र दुई छोरीकी आमा हुन् । उनी अझै एउटा छोरा पाउने आशमा छिन् । उनले चौथो सन्तान लिंग पहिचान गरी गर्भपतन गराइन्।
उनको श्रीमान् वैदेशिक रोजगारको क्रममा विदेशमा छन् । विदेशबाट आएपछि पुनः छोरा पाउने मनस्थिति बनाएको विमलाको भनाइ छ । उनले भनिन्, `मेरो परिवारमा चार पुस्तादेखि एउटै छोरा हुँदै आएकाले हामी दम्पतीमा दुई छोरा जन्माउने चाहना भएको हो।´
राजविराज नगरपालिका-२ की ३३ वर्षीया मोनाज खातुन (नाम परिवर्तन) तीन छोरीकी आमा हुन् । उनले गर्भमा छोरी भएकैले दुईपटक गर्भपतन गराइसकेकी छन्। उनले भनिन्,´तीनवटी छोरी भए पनि छोरा पनि चाहिने भएकाले छोरा पाउने आसमा दुईपटक गर्भपतन गराउन बाध्य भएँ ।
उनकै छिमेकी ३८ वर्षीया प्रवीणा शर्मा (नाम परिवर्तन) ले छोरा पाउने आशमा पाँचवटी छोरी पाइसकेकी छन्। अझ पनि छोराको पर्खाइमा रहेको उनले बताइन्। उनले भनिन्, ´छोरीहरूले त विवाह गरेर गइहाल्छन्। बुढेसकालको सहारा भनेको छोरा नै हो। छोरा भएन भने समाजले पनि यसलाई छोरा छैन भन्छन् । पाँचवटी छोरीलाई जन्म दिने रहर थिएन ।´
लिंग पहिचान गर्ने र गर्भपतन गराउने पैसा नभएकाले गर्भपतन गराउन नसकेको उनले बताइन्। लिंग पहिचान गर्न र गर्भपतन गर्न कम्तीमा २५ हजारदेखि बढीमा ५० हजार रुपैयाँ लाग्ने गरेको प्रवीणाले बताउँछिन्।
राजविराज -३ का ४७ वर्षीय शंकर दास (नाम परिवर्तन) को तीनवटै छोरीको विवाह भएपछि एक दुर्घटनामा छोराको मृत्यु भयो । छोराकै लागि उनले अर्को विवाह गरे। कान्छीपट्टि पनि उनकाे एउटी छोरी जन्मिएकाे छ। तर अझै छोराको पर्खाइमा उनको परिवार छ । उनले भने,´अर्को विवाह गर्ने सोच कहिल्यै पनि थिएन ।भएको एउटा छोरा पनि नरहेपछि विवाह गर्न बाध्य भएँ ।´
आफ्नो लागि भन्दा पनि अरूले यसको छोरा छैन भन्लान् भन्ने डरले विभिन्न चुनौती सहेर छोरा पाउन बाध्य भएका सर्वसाधारण हाम्रो समाजमा धेरै रहेको नर्स रेखा देवले बताउँछिन् । उनले भनिन्,´हाम्रो समाज विस्तारै सचेत भएकाे छ । सबैलाई थाहा छ, छोराभन्दा छोरीले हरेक क्षेत्रमा बढी काम गर्न सक्छन् । आमाबुबाको राम्रो हेरचाह पनि छोरीले नै गर्छन् । तर पनि छोराप्रतिको मोह हट्न नसक्नु दु:खद हो ।´
राजविराजमा लामो समयदेखि भिडियो एक्सरे गर्दै आएका एक रेडियोलोजिस्टका अनुसार दिनहुँ लिंग पहिचान गरिदिन भनी तीनदेखि ६ परिवार आउने गर्छन् ।
नेपालको कानुनमा भ्रुण लिंग पहिचान गरी गर्भपतन गर्न, गराउन नहुने भनिएको अधिवक्ता दानो चौधरी बताउँछिन् । कसैले गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुण लिंग पहिचान हुने कुनै काम गर्ने, लिंग पहिचान भएपछि गर्भपतन गर्ने, गराउने ब्यक्तिलाई कानुनबमोजिम कारबाही हुने व्यवस्था रहेको उनकाे भनाइ छ । उनले भनिन्, ´बाह्र हप्ताभन्दा बढी २५ हप्तासम्मको तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्मको जरिवाना हुने कानुनमा ब्यवस्था छ।´
अहिले पनि लिंग पहिचान गरी गर्भपतन गराउने संख्या सप्तरीमा उल्लेखनीय भए पनि यसको वास्तविक तथ्यांक नरहेको एक स्वास्थ्यकर्मीले बताए।






















