सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा


काठमाडौं, पुस २५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायतलाई कोरोना संक्रमण देखिएपछि मन्त्री कार्की पनि आइसोलेसनमा बसेका हुन् ।
शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा सहभागी हुँदै आएका थिए । शुक्रबार मात्रै बसेको सत्तारुढ दलका शीर्ष नेताहरु संलग्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा मन्त्री कार्की पनि सहभागी थिए ।
मन्त्री कार्कीले शनिबारदेखि नै भेटघाट बन्द गरेका छन् । आइतबार कोरोना परीक्षण गराउने उनको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शनिबारदेखि नै आइसोलेसनमा बसेका छन् ।






















