विश्व शान्ति बचत तथा ऋण सहकारी सस्था बर्दघाटको १३ औँ बार्षिक साधारणसभा सम्पन्न


रामु भुसाल
नवलपरासी । विश्व शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट ४ पश्चिम नवलपरासीको १३ औँ बार्षिक साधारणसभा तथा पाचौँ नेतृत्व चयन कार्यक्रम शनिबार बर्दघाट – १६ सुर्यनगरमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष मोहन बहादुर गुरुङको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक बर्दघाट शाखा प्रमुख सविना पोखरेलको प्रमुख आतिथ्यता र बर्दघाट वडा नम्बर १६ का वडाध्यक्ष शुक बहादुर गुरुङको विशेष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले बचत भनेको कमाएको पैसाबाट खर्च गरि बचेको पैसा बचत नभई कमाएको पैसालाई बचत गरेर मात्रै खर्च गर्नुपर्ने धारणा राख्नुभयो ।
सो अवसरमा पोखरेलले सहकारीहरुले आफ्ना सेयर सदस्यहरुलाई सहकारी शिक्षाका साथ साथै वित्तिय साक्षरता सञ्चालन गर्न सके सदस्यहरु लाभदायी हुने बताउनुभयो । कार्यक्रममा विशेष अतिथीको रुपमा बोल्दै गुरुङले विश्व शान्ति सहकारी ऋण र बचत मात्रै नभई आफ्ना समुदायलाई आत्मनिर्भर र शसक्तिकरण गराउने उदेश्यले गठन भएको हुदा यस सहकारीले आफ्नो भाषाधर्म र संस्कृतीलाई प्रबद्र्धन गर्न उल्लेख्य भुमिका खेल्नुपर्ने बताउनु भयो ।
गुरुङ समुदायका सम्पुर्ण नगरबासीलाई यस सहकारीमा आबद्ध गराउनुपर्ने कुरामा जोड दिदै प्रमुख अतिथि गुरुङले आफुले यसका लागी सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा अध्यक्षको बार्षिक प्रतिवेदन अध्यक्ष मोहन बहादुर गुरुङले प्रस्तुत गर्नुभएको थियो भने सस्थाको निति, कार्यक्रम तथा आगामी योजनाको बार्षिक प्रतिवेदन सचिव देव बहादुर गुरुङले प्रस्तुत गर्नुभएको थियो ।
सोही अवसरमा संस्थाको कुल २ करोड ४० लाख बराबरको आय ब्यय विवरण प्रस्तुत गर्दै संस्थाका कोषध्यक्ष सिता कुमारी गुरुङले आर्थिक बर्ष ०७७/ ७८ मा संस्थाले ६ लाख ६० हजार ६ सय ३८ शुद्ध नाफा गर्न सफल रहेको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै लेखा समयोजक ईन्द्र बहादुर गुरुङले सस्थालाई अगाडी बढाउन सस्थाले विभिन्न विनियमहरु बनाई अगाडी बढ्नुपर्ने कुरामाथि जोड दिुनभएको थियो ।
कार्यक्रममा विभिन्न संघ सस्थाको तर्फदेखी भुपु सैनिक कल्याणकारी सस्थाका अध्यक्ष महेन्द्र कुमार गुरुङ, सल्लाहकार होम बहादुर गुरुङ, सस्थाका पुर्व अध्यक्ष राम बहादुर गुरुङ लगायतले मन्तब्य राख्नुभएको थियो । सो अवसरमा असल ऋणि, पुर्व कार्य समितिका पदाधिकारी लगायतलाई सम्मान समेत गरिएको थियो । संस्थाका उपाध्यक्ष उदिम बहादुर गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव देव बहादुर गुरुङले गर्नुभएको थियो ।
सोही अवसरमा सम्पन्न अधिवेशनले आगामी ३ बर्षका लागी होम बहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय नया कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्ष उदिम बहादुर गुरुङ, सचिव शुदा गुरुङ, कोषाध्यक्षमा सिता गुरुङ रहनुभएको छ भने सदस्यहरुमा दिपक गुरुङ, महेन्द्र गुरुङ, शुक बहादुर गुरुङ, अम्बर बहादुर गुरुङ र मोहन गुरुङ रहनुभएको छ । त्यसतै, इन्द्र बहादुर गुरुङको समयोजकत्वमा ३ सदस्यिय लेखा समिति चयन गरिएको छ ।
जसको सदस्यहरु मंगल गुरुङ र अनु गुरुङ सर्व सम्मत चयन हुनुभएको संस्थाकी ब्यवस्थापक सुदा गुरुङले जानकारी दिनुभएको छ ।






















