ओलीले प्रधानमन्त्रीबाट हटाएको पीडा खप्न सकेनन, तथानाम भुक्न थाले : माधव नेपाल


काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट निकालेको पीडा खप्न नसकेपछि भुक्दै हिँडेको आरोप लगाएका छन् ।
‘बालकोटको बार्दलीमा बसेर तथानाम गाली गरे । त्यो के हो भने–प्रधानमन्त्रीबाट निकालेको पीडा बोलेको । पीडा धेरै भइसकेपछि त्यो मुखबाट बाहिर निस्कन्छ । कहिले त्यो भोमिट गरेर निस्कन्छ, कहिले शब्दबाट निस्कन्छ,’ नेपालले भने, ‘तपाईंहरूमध्ये कोही डाक्टर भए उपचार गरिदिनु भए हुन्छ । विचराको त्यो हालत ।’
ओलीमा दम्भ सबार भएको नेपालले बताए । ‘बालुवाटारबाट बालकोट पुग्ने बित्तिकै भुक्नु परेछ । कारण के हो भन्दाखेरी उनमा दम्भ सवार हो त्यो । व्यक्तिवाद सवार भयो । मैमत्त प्रवृत्ति सवार भयो । म भन्दा जान्ने, सुन्ने कोही छैन भन्ने प्रवृत्ति हुर्केर आयो । उनमा दम्भी नेताको विशेषता देखियो,’ नेपालले भने ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालले ओलीले आफूले गज्जब काम गरेको भनेर गुड्डी हाँक्दै हिँडेको आरोप लगाए । ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको टाउँकोमा टेकेर आफूलाई अग्लो देखाउन नेकपा एकता गराएको उनकव टिप्पणी थियो । ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरूले अलग पार्टी बनाएको नेपालको दाबी थियो ।
नेपालले ओलीका लागि उनलाई बा नभन्ने नपुज्ने कार्यकर्ताभन्दा राप्रपा, महन्थ ठाकुर र विदेशी प्यारो भएको आरोप लगाए । ‘अहिले तपाईंहरुलाई थाहा छ, राप्रपा प्यारो छ, केपी ओलीका लागि । महन्थ ठाकुर प्यारा छन्, केपी ओलीका लागि । विदेशीहरू प्यारा छन, उनका लागि,’ नेपालले भने ।






















