गण्डकी प्रदेश

ओमिक्रोन देखिएपछि गण्डकी प्रदेशमा कडाइ गरिने

जगत ठाडा मगर
२०७८ पुस २३ | मध्यान्ह ०७:०९ बजे

पोखरा, पुस २३ । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि कास्की लगायत गण्डकी प्रदेशका जिल्लाहरुमा कडाइ गर्ने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गण्डकी प्रदेशले सिमानाकामा चेकजाँचलाई कडाइ गर्ने तयारी गरिएको छ ।

संघको स्वास्थ्य मन्त्रालयले ओमिक्रोन नियन्त्रणका लागि आवश्यक तयारी तुरुन्त गर्न भनेपछि ओमिक्रोन भाइरस बढ्न सक्ने आकलन गरी तयारी तीव्र पारिएको हो । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधु अधिकारी गुरुङ सहितको बैठकले ओमिक्रोन नियन्त्रणका लागि प्रदेशका नाकाहरूमा कडाइ गर्ने र प्रदेशका स्वास्थ्य संरचनालाई आवश्यक तयारी गरी स्वास्थ्य सामाग्री, जनशक्ति व्यवस्थापन, अक्सिजन सिलिन्डर तथा अन्य तयारी यथाशीघ्र व्यवस्थापन गर्न निर्देशन दिए ।

मन्त्री गुरुङले यस्तो अवस्थामा आयोजना गर्ने सबै खाले मेला महोत्सव बन्द गर्न सम्बन्धित निकायमा कुराकानी गर्न पनि सचिवलाई निर्देशन दिएका छन् । मानिसको स्वास्थ्य भन्दा ठुलो अरु कुरा नभएको भन्दै आवश्यक परे स्मार्ट लकडाउन गर्नु पर्ने अवस्था समेत आउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विनोद बिन्दु शर्माले जानकारी दिए । यस अघि गरिएको हेलो डाक्टर,कोरोना अपडेट लगायतका कामहरू पनि पुन : सुचारु गरिने भएको छ ।

मन्त्रालयको ग्राफ अनुसार गण्डकी प्रदेशको कास्की, म्याग्दी, लमजुङ, नवलपुर लगायतका जिल्लाहरु स्मार्ट लकडाउनको अवस्थामा पुगेका छन् । छिमेकी राष्ट्र भारतसँग सीमा जोडिएका नाकाहरूमा सरकारले १ – १ हजार बेडको आइसोलेसन निर्माण गरेको छ ।

कमेन्टहरु