नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीले राष्ट्रियसभा निर्बाचन हार स्वीकार गरिसके


काठमाडौ, पुस २३ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन् ।
आज एकीकृत समाजवादी पार्टीको काठमाडौं महानगर कमिटीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा ओलीले हार स्वीकार गरेको बताएका हुन् । एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टीको ६३ जिल्लाको अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताएका थिए ।
अध्यक्ष नेपालले ओलीले आफ्नो दम्भी स्वभाव विपरीत राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पार्टीको पराजय निश्चित छ भनेर भाषणमै स्वीकार गरेको टिप्पणी गरे । उनले ओलीले देशभर एकसाथ जिल्लाहरूको अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोप समेत लगाए । जिल्ला–जिल्लामा गरेको भए नेताहरू जाने, सम्बोधन गर्ने अवसर हुने र त्यसले नेतृत्व स्थापित हुने अध्यक्ष नेपालको भनाइ थियो । तर, त्यो पद्धति ओली समूहमा नरहेको अध्यक्ष नेपालले बताए ।
अध्यक्ष नेपालले ओलीसँग आलोचनात्मक चेत भएका सिद्धान्तनिष्ट कार्यकर्ताहरू नभएको दाबी गरे । उनले ओलीसँग देवत्वकरण गर्ने मानिसहरू मात्रै रहेको र अन्य मानिस विद्रोह गरेर आफ्नो पार्टीमा प्रवेश गरिरहेको बताए ।






















