प्रदेश १ सांसद पुत्रको सवारी ज्यान मुद्दा : अस्पतालबाटै कट्यो जेल सजाय


पहुँच हुनेहरुका लागि अदालत, प्रहरी र जेल प्रशासन कति सहयोगी हुन्छन् भन्ने प्रदेश १ सासंद विन्दिया कार्कीका छोरा संलग्न सवारी ज्यान मुद्धामा देखिन्छ । सात महिना भित्रै दुई तहबाट फैसला भएको यो मुद्धामा सासंदपुत्र कैद अवधि नोबेल अस्पतालको ‘सेमी डिलक्स’ रुममा बिताएर मगंलबार रिहा भए ।
विराटनगर । समाजमा पहुँचवालाहरुले कानुन व्यवस्थालाई सजिलैसंग छलेर आफनो हितमा प्रयोग गर्छन् भन्ने प्रदेश १ कि सांसद विन्दिया कार्कीको छोरा २४ वर्षीय रबिनसिंह कार्की संलग्न सवारी ज्यान मुद्दाबाट स्पष्ट हुन्छ ।
कार्कीको मुद्धा पछिल्लो सात महिनाभित्र जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरबाट फैसला समेत भइसक्यो र कार्कीले यो सात महिनाको कैद अवधि अस्पताल बसेरै कटाए ।
२० जेठ २०७८ बेलुका साढे ७ बजे विराटनगर एयरपोर्ट मोडमा कार्कीले चलाएको गाडी दुर्घटना भएको थियो । प्रदेश ३–०१–०२२ च २१३९ नम्बरको कारले ठक्कर दिदा भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो । त्यस्तै मोरङ कटहरीका राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए ।
ठक्कर दिने कार प्रदेश १ सांसद विन्दिया कार्कीका छोरा रोबिन भनिने रविनसिंह कार्कीले चलाएका थिए । विन्दिया प्रदेश १ को प्रदेशसभामा नेपाली काङ्ग्रेसकी समानुपातिक सांसद हुन् ।
रक्सी खाएर गाडी चलाएको र दुर्घटना गराएको भनेर १३ असोज २०७८ मा जिल्ला अदालत मोरङले ३ वर्ष कैद र ३५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।






















