भारत सरकारले महाकाली नदीमा पुल बनाउने निर्णय


काठमाडौ । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गरी महाकाली नदीमाथि पुल बन्ने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बसेको भारतीय मन्त्रिपरिषद् बैठकले महाकाली नदीमाथि पुल बनाउन नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको हो।
भारतीय विदेशमन्त्री एस जयशंकरले ट्विटमार्फत् बिहीबारको क्याबिनेटले महत्वपूर्ण निर्णय गरेको उल्लेख गर्दै यो विषय समावेश गरेका छन्।
भारतले तीन वर्षमा निर्माण सम्पन्न हुने गरी पुल बनाउने तयारी भारतको छ। उनले भनेका छन्, ‘प्रधानमन्त्री मोदी नेतृत्वको मन्त्रिपरिषद्ले आज महत्वपूर्ण निर्णयहरु गरेको छ। नेपाल र भारतबीच महाकाली नदीमा पुल बनाउनका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने अनुमति दिने निर्णय गरेको छ।
यसले द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने छ।’ भारतले चाँडै नै नेपाल र भारतबीच समझदारी पत्रमा हस्ताक्षर हुने समेत उल्लेख गरेको छ।






















