राजनीति

एमालेले काठमाडौं जिल्ला अधिवेशनमा एक लाख कार्यकर्ता उतार्ने

जगत ठाडा मगर
२०७८ पुस २२ | मध्यान्ह ०४:०९ बजे

काठमाडौं, पुस २२ । नेकपा (एमाले)ले शुक्रबार हुने काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा एक लाख कार्यकर्ता भेला गराउने बताएको छ ।

मूलपानी क्रिकेट मैदानमा हुन लागेको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा एक लाख कार्यकर्ता सहभागी गराउने र त्यसको तयारी पूरा भएको जिल्ला अध्यक्ष कृष्ण राईले जानकारी दिए । यसअघि पुस २० गते काठमाडौंका ११ नगर, १३८ वडा र १० निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू छनौट गरिसकेको राईले बताएका छन् ।

जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् । शुक्रबार उद्घाटन हुने जिल्ला अधिवेशनको बन्दसत्र भने शनिबार राष्ट्रिय सभागृहमा हुनेछ ।

जिल्ला अधिवेशन उद्घाटनको दिन काठमाडौंको थली, मूलपानीको पिपलबोट र नारायणटार हुँदै तीन रुटबाट र्‍याली आयोजना गरिने अध्यक्ष कृष्ण राईले जानकारी दिए ।

कमेन्टहरु