देश

सिराहामा ७३ हजार बढी मतदाता थपिए

जगत ठाडा मगर
२०७८ पुस २२ | मध्यान्ह १२:०९ बजे

सिरहा । सिराहाको जिल्ला सदरमुकामस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदाता सूचीमा नाम दर्ता गराउन चाहनेहरुको घुइँचो लागेको छ।

गत १७ मंसिरदेखि १९ पुससम्म पहिलो र दोस्रो चरणमा जिल्लाका स्थानीय तहमा संचालन गरेको मतदाता दर्ता विशेष कार्यक्रममा छुटेकाहरुको घुइँचो लागेको जिल्ला निर्वाचन अधिकारी इन्दिरा यादवले जानकारी दिइन्। ‘मतदाता सूचीमा नाम दर्ताका लागि बिहान कार्यालय खुलेदेखि साँझसम्म जिल्लाका विभिन्न ठाउँबाट आएकाहरुको लाम लाग्ने गरेको छ,’ यादवले भनिन्। १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्राप्त गरिसकेकाहरु मतदाता सूचीमा समावेश हुनसक्ने भएकाले नाम दर्ताका लागि कार्यालयमा बढी घुइँचो लागेको उनले बताइन्। उनका अनुसार निर्वाचन घोषणा नहुञ्जेल निर्वाचन कार्यालयसहित जिल्ला प्रशासन र इलाका प्रशान कार्यालयमा नाम दर्ता गर्न सकिने छ।

जिल्लामा ७३ हजार बढी मतदाता थपिए
जिल्ला निर्वाचन कार्यालय सिराहाका सूचना अधिकारी गणपति यादवका अनुसार पछिल्लो स्थानीय तहको निर्वाचनयता जिल्लामा तीन तेस्रो लिंगीसहित ७३ हजार ११० मतदाता थपिएका छन्। पछिल्लो स्थानीय तहको निर्वाचनमा मतदाता सूचीमा रहेकाको संख्या बढी भएपनि निर्वाचन घोषणा भएको मितिमा १८ वर्ष पुगेका एक लाख ७७ हजार ९४० पुरुष र एक लाख ५६ हजार ९५४ महिला गरी तीन लाख ३२ हजार ८९४ मतदाता थिए।

त्यसयता जिल्ला निर्वाचन, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयमा गत मंसिर मसान्तसम्म मतदाता सूचीमा दर्ता भएका, मंसिर र पुसमा स्थानीय तहमा संचालन गरिएको मतदाता दर्ता विशेष कार्यक्रममा दर्ता भएकाहरुसहित जिल्लाको १७ स्थानीय तहमा दुई लाख १६ हजार ९६७ पुरुष, एक लाख ८९ हजार ३४ महिला र तीन तेस्रो लिंगीसहित कुल चार लाख छ हजार चार मतदाता भएका छन्।

त्यसबाहेक पुस महिनामा निर्वाचन कार्यालय, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयमा दर्ता भाएकाहरुको संख्या थपिँदा कुल मतदाता संख्या अझै बढ्ले उनले बताए।

कमेन्टहरु