बिनोद चौधरीको केन्द्रीय सदस्य पद खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी


काठमाडौं, पुस २२ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य बिनोद चौधरीलाई पदमुक्त गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । केन्द्रीय समिति सदस्यमा निर्वाचित चौधरीले क्रियाशिल सदस्यता लिएको १० बर्ष नपुगेको र उनी अवैधानिक ढंगले केन्द्रीय सदस्य बनेको भन्दै सिरहा क्षेत्र–३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले चौधरीविरुद्ध उजुरी दिएका हुन् ।
सानेपास्थित निर्वाचन समितिलाई मौखिक रुपमा बारम्बार भन्दा पनि सुनवाई नभएको उल्लेख गर्दै राजनीतिक दलसबन्धी ऐनलाईसमेत जोडेर गत महाधिवेशनमा खुल्ला मधेशीतर्फ छैठौं स्थानको मत प्राप्त गरेका यादवले चौधरीलाई पदमुक्त गर्न आयोगमा निवेदन दिएका हुन । चौधरीलाई पदमुक्त गरी सो स्थानमा आफुलाई बिजयी घोषित गर्न डा. यादवको माग रहेको छ ।
कांग्रेसको विधानअनुसार १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट ४ महिलासहित ९ जना मधेसी केन्द्रीय सदस्य रहने व्यवस्था रहेको निवेदनमा स्मरण गराइएको छ । ‘मधेसी खु्ला पदमा निर्वाचित भनिएका विनोद चौधरी नेपाली कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नभएको निज २०७४ सालमा मात्र नेपाली कांग्रेसमा प्रवेश गरेकोले निजको केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्टै छ’ उजुरीमा अगाडि भनिएको छ ।
निर्वाचनमा चौधरीसँग पराजित भएका यादवले उजुरीमा भनेका छन् ‘नेपाली कांग्रेसको विधान विपरित निर्वाचित भनिएका विनोद चौधरीको सम्बन्धमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय र कांग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी गर्दा पनि कुनै सुनुवाई नगरेबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४, १५, १७, ५७ समेतको आधारमा प्रस्तुत उजुर निवेदन पत्र पेस गरेको छु ।’






















