आगलागी नियन्त्रणमा लिने क्रममा ग्यास विस्फोट हुँदा एकको मृत्यु, १२ जना घाइते


झापा, पुस २२ । गएराती झापाको मेचीनगरमा आगलागी भएको थियो । उक्त आगलागी नियन्त्रणमा लिने क्रममा सिलिन्डर विस्फोट भएर एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मेचीनगर नपा-८ निवासी ४५ वर्षीय सारद राजवंशी रहेका छन् । उनलाई उपचारको लागी एन्जल मेडिकल धुलाबारी लगेकोमा उक्त मेडिकलमा पुर्याउन साथ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बुधबार राति साढे ९ बजेको समयमा मेचीनगर नपा वडा नं – ७ पिपल चोक बस्ने केशव पाठकको १ तले कच्ची घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो ।
आगो निभाउने क्रममा उक्त घरमा रहेको ग्यास सिलिण्डर विष्फोट हुँदा मानिसहरू घाइते हुन पुगेका हुन् । घाइते हुनेहरूमा लेखनाथ तिमल्सिना, गोविन्द प्रसाद राजवंशी, दीपेन्द्र कार्की, चन्दन गौतम, सुवलाल राजवंशी, विनोद गिरि, नवराज श्रेष्ठ, सन्देश बोहरा, भवानी शंकर न्यौपाने, हरि वि.क., निर्मल शर्मा, सुशीला अधिकारी लगायत छन् ।
दमकल, प्रहरी र स्थानीयको सहयोगमा एक घण्टापछि आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।






















