सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै केएमसीका विद्यार्थी आन्दोलनमा


काठमाडौं, पुस २१ । चिकित्सा शिक्षा अध्ययनका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) ले सरकारले तोकेको भन्दा बढी शुल्क लिइएको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
बुधबार केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएसका विद्यार्थीहरुले काठमाडौंको माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेका हुन् । एमबीबीएसमा तोकिएभन्दा विभिन्न शीर्षकमा अतिरिक्त ३० लाखसम्म र बीडीएसतर्फ १० लाख रुपैयाँ अतिरिक्त शुल्क लिइएको भन्दै प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरुले `आयोगको नियम कार्यान्वयन गर, अतिरिक्त शुल्क खारेज गर, विद्यार्थी लुट्न पाइँदैन, विद्यार्थीको भविष्य सुनिश्चित गर´ जस्ता नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
विद्यार्थीहरूले विभिन्न १० बुँदे मागसहित सुरु गरेको आन्दोलनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, नेत्रविक्रम चन्द नेतृत्वको अखिल क्रान्तिकारीले ऐक्यवद्धता जनाएका थिए ।






















