सिरियल किलर चार्ल्स शोभराजको मुद्दा वमकुमार श्रेष्ठ र नहकुल सुवेदीको इजलासमा

जगत ठाडा मगर
२०७८ पुस २१ | मध्यान्ह १२:०९ बजे

काठमाडौं, पुस २१ । फ्रेञ्च सिरियल किलर चार्ल्स शोभराजको मुद्दामा आज सुनुवाई हुँदैछ । सर्वोच्च अदालतमा शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाई हुन लागेको हो ।
शोभराजको मुद्दा न्यायाधीद्वय वमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको छ । शोभराजले पुस ७ गते उमेरको आधारमा कैद छुटको माग गर्दै रिट निवेदन दिएका थिए । यसअघि अनिलकुमार सिन्हाको एकल इजलासले सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
७० वर्ष उमेर पुगेका कैदीबन्दीलाई असल चालचलन भएमा ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ । शोभराजले नेपालीमात्र नभई विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने माग गरेका छन् । उनलाई शृङ्खलावद्ध हत्यामा जन्मकैदको सजाय भएको थियो । उनी कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा छन्।






















