दैलेखमा यात्रु बाेकेकाे जीप दुर्घटना, चालककाे मृत्यु, सात घाइते

जगत ठाडा मगर
२०७८ पुस २१ | मध्यान्ह १२:०९ बजे

दैलेख, पुस २१ । दैलेखको वेस्तडा बजारदेखि दैलेख बजार आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।
भगवतीमाई गाउँपालिकाको केन्द्र वेस्तडाबाट दैलेख बजार आउँदै गरेको लु २ ज ४८२९ नम्बरको जीप नारायण नगरपालिका–११ लोहोरेनजिकै दुर्घटना हुँदा चालक २९ वर्षीय कृष्ण रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए । उनका अनुसार दुर्घटनामा ७ जना घाइते भएका छन् ।
घाइतेहरूको उपचारका लागि सदरमुकामस्थित जिल्ला अस्पताल लगिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । जीपको ब्रेक फेल भएर दुर्घटना भएको घाइतेहरूले बताएको र थप अनुसन्धान भइरहेकाे घटनास्थलबाट प्रहरी निरीक्षक सुनारले बताए ।






















