देश

गोली हानेर मार्छु भन्दै मध्यराति कांग्रेस सभापतिको घरमा पुगेका सिरहाका एसपी पाण्डे तीन महिनाका लागी निलम्बित

जगत ठाडा मगर
२०७८ पुस २१ | बिहान १०:०९ बजे

बिनोद मण्डल
सिरहा । सरुवाको विषयलाई नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हानेर मार्ने धम्की दिएका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले एसपी पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले जानकारी दिए ।

कांग्रेस सिराहा सभापति यादवलाई गोली हानेर मार्ने भन्दै पेस्तोल लिएर मध्यराति उनको घरमा पुगेको पुष्टि भएपछि एसपी पाण्डेलाई निलम्बन गरिएको हो । घटनाबारे थप अनुसन्धान गरिने एसएसपी कुँवरले बताए । एसपी पाण्डेलाई प्रहरी प्रधान कार्यालयले जिल्‍ला प्रहरी कार्यालय सिराहाको जिम्मेवारी हटाएर हेडक्वार्टर तानेपछि आइतबार मध्यराति साढे १ बजे उनी पेस्तोलसहित यादवको घरमा पुगेका थिए । तर, एसपी पाण्डेले भने आफू यादवको घरमा नगएको र गोली हानेर मार्ने धम्की नदिएको दाबी गरेका थिए ।

पेस्तोलसहित यादवको घरमा पुगेका एसपी पाण्डेलाई सिराहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारी र सशस्त्र प्रहरीका एसपी दीपेन्द्र गिरीले एसपी क्वार्टरमा फर्काएका थिए । कांग्रेस सिराहाका सभापति यादवले आफूलाई मार्छु भन्दै एसपी पाण्डे पेस्तोल लिएर आफ्नो घरमा आएको बताएका थिए । उक्त घटना पुष्टि भएपछि पाण्डेलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो ।

प्रहरी प्रधान कार्यालयले ६ महिनामै एसपी पाण्डेलाई तानेर उनको ठाउँमा एसपी अर्जुन तिमिल्सिनालाई पठाएको छ । एसपी पाण्डे ८ असार २०७८ मा जिल्ला प्रहरी कार्यालय सिराहा सरुवा भएका थिए ।

कमेन्टहरु