उपत्यकाका ट्राफिक प्रहरीलाई ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता


काठमाडौं, पौष २१ । उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । भत्ताका लागि अर्थ मन्त्रालयले सहमति दिएपछि गृह मन्त्रालयले कार्यान्वायन प्रक्रिया अघि बढाएको छ ।
अर्थले जवान र हवल्दारलाई ४० प्रतिशत, असइ र सइलाई २० प्रतिशत तथा इन्स्पेक्टर र डिएसपीलाई तलबको १० प्रतिशत भत्ता उपलब्ध गराउन सहमति दिएको हो । यो भत्ता उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई मात्र लागू हुनेछ । काठमाडौं, ललितपुर र भक्तपुरमा हाल एक हजार पाँच सय ५० ट्राफिक प्रहरी कार्यरत छन् । यो निर्णयसँगै जवान र हवल्दारले मासिक करिब १० हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउनेछन् ।
उपत्यकामा कार्यरत ट्राफिक प्रहरी दिनमा १६ घन्टासम्म ड्युटीमा खटिनुपर्ने भएकाले उनीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन लागिएको हो । २०७६ को वैशाखसम्म ट्राफिक प्रहरीले भत्ता पाउँदै आएकोमा कोरोना महामारी सुरु भएसँगै भत्ता कटौती भएको थियो । ट्राफिक प्रहरीको ड्युटी असाध्यै गाह्रो भएको भन्दै भत्ता उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको थियो ।
अर्थमन्त्री जनार्दन शर्मा यस प्रस्तावमा सकारात्मक भएपछि ट्राफिक प्रहरीले भत्ता पाउने भएका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखामा एक हजार ८३ ट्राफिक प्रहरीको दरबन्दी भए पनि थप करिब पाँच सयलाई काजमा राखेर ड्युटीमा खटाइएको छ । उपत्यकामा कार्यरत ट्राफिक प्रहरी सरुवा माग्दै उपत्यकाबाहिर जान खोज्ने प्रवृत्ति छ ।
भत्ता दिने निर्णयसँगै अब काम गर्न सहज हुने ट्राफिक महाशाखाका एक अधिकारी बताउँछन् । नयाँ पत्रिकाबाट






















