आजदेखि शनिबारसम्म हिमपात र वर्षा


काठमाडौं, पुस २१ । आजदेखि शनिबारसम्म देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । मंगलवार रातीदेखि पश्चिमी नेपालबाट प्रबेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण यो हप्ताको करिब चार दिन मौसम खराब रहने छ ।
शनिबारसम्म यो प्रणाली देशभर फैलिएर मुख्यतः सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वाग्मती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानमा र प्रदेश १ र २ का एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने विभागले जनाएको छ ।
यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि विभागले भनेको छ । यसैबीच, आज दिउँसो देशभर सामान्य बदली रहनेछ । आजराति पनि देशभर सामान्य बदली रहने छ ।






















