Opens in a new tab

देश

नेपाल रेल्वे कम्पनीको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा जनकपुरबाट एक युवक पक्राउ

जगत ठाडा मगर
२०७८ पुस २० | मध्यान्ह ०४:०९ बजे

जनकपुरधाम, पुस २० । धनुषामा नेपाल रेल्वे कम्पनीको नियुक्तपत्र दिएर ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका वडा नम्वर ७ दनौली बनौलीका ३२ वर्षीय सागर कान्त चौधरी रहेको धनुषा प्रहरीले जनाएको छ ।

आफुलाई लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भन्दै ठगी गरिरहेका चौधरीलाई आइतबार राति जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर ८ स्थित सीता प्यालेस होटल अगाडीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

चौधरीले आफु लोक सेवाआयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नियुक्ति पत्र लगायतका कागजातहरु देखाएर स्थानीयहरुलाई ठगी गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो ।

चौधरीको तलास गर्दा ज्याकेटको भित्रपट्टीको गोजीमा लोक सेवा आयोग न्युक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना, विभिन्न व्यक्तिको नाममा रहेको नियुक्ती पेपर, शपथ ग्रहण पाना, नेपाल ईन्भेष्ट बैंक लिमिटेडको राजेश कापरको नाउको दस्तखत भएको खाली चेक, पर्सा जिल्ला अदालत विरगंज लेखिएको रबर स्टाम्प छाप बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चौधरीसँग सोधपुछ गर्दा लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको नक्कली कागजातहरु तयार गरी स्थानियहरुलाई ठगी गर्न भनी आफुले लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नक्कली नियुक्ति पत्र तयार गरी बाडिरहेको छु भनी बताउँदा उनलाई नियन्त्रण लिइएको हो ।

चौधरीलाई धनुषा जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुर मुद्दा शिर्षकमा सात दिनको म्याद लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु