राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा गठबन्धन र लोसपाको उम्मेदवारले गरे मनोनयन दर्ता


जनकपुरधाम, २० पुस । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । लोसापाबाट महोत्तरीकी रुपा यादव र सप्तरीका श्याम सुन्दर सरदारले उम्मेदवारी दर्ता गराएका हुन् ।
सरदार प्रदेश २ दलित विकास समितिका सदस्य भएकाले उम्मेदवार बन्न नपाउने भनिएपनि उनले उम्मेदवारी दिएको बुझिएको छ । यस्तै जसपाबाट सिरहाका खालिद सिद्दिकीले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउत लगायतका नेताहरुले सिद्दिकीलाई लिएर उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका थिए ।
माओवादीबाट पर्साकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् । प्रदेश २ मा भने काँग्रेसले उम्मेदवारी दिएनन् । सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाबीच गठबन्धन बनेको छ ।























