कपिलवस्तुमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते

जगत ठाडा मगर
२०७८ पुस २० | बिहान ११:०९ बजे

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका-३ रनगाईमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान ७ बजे बालुवा लिनको लागि मजदुर लिएर बुद्धभूमि ४ बुड्ढी जाने क्रममा लु ४ त २४०२ नम्बरको ट्याक्टर पल्टिएको हो ।
मृत्यु हुनेमा स्थानीय ४८ वर्षिया शिवकुमारी थारू र १६ वर्षिया फुलकुमारी थारू रहेकी इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । उनीहरुको घटनास्थलमै मृत्युु भएको हो । त्यस्तै बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू घाइते भएका छन् ।
घाइतेहरुमध्ये बलरामको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए । ट्याक्टर सडकदेखि करिब ५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।






















