Opens in a new tab

राजनीति

आज राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता

जगत ठाडा मगर
२०७८ पुस २० | बिहान ०७:०९ बजे

काठमाडौ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभा निर्वाचनमा भाग आयोगमा लिन १२ वटा राजनीतिक दलले दल दर्ता गरेका छन् । निर्वाचनका लागि दल दर्ता गराउनेमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, प्रजातान्त्रिक जनता पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र नेपाल परिवार दल रहेका छन् ।

निर्वाचन आयोगका अनुसार सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि ३ बजे सम्मको समय तोकिएको छ । आयोगले निर्वाचनका लागि प्रदेशसभा सदस्यहरु ४३२ तथा पालिका प्रमुख र उपप्रमुखहरू १४ सय ९३ गरी कुल २०२५ जना मतदाता हुने जनाएको छ ।

त्यस्तै, पुस २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ । आगामी माघ १२ गते तोकिएको मतदान केन्द्रमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

कमेन्टहरु