राजावादीहरू ट्याउँट्याउँ गरेर केही हुँदैन : डा. बाबुराम भट्टराई


पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले राजावादीहरू कराएर केही नहुने टिप्पणी गरेका छन् ।
इलामको सदरमुकाममा भएको पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियानका क्रममा भट्टराईले राजतन्त्र नफर्कने भन्दै भने ‘राजावादीहरू ट्याउँट्याउँ गरेर केही हुँदैन ।’ मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएकाले एकतन्त्रीय शासनको कल्पना गर्न नसकिने उनको भनाइ छ ।
भट्टराईले ओलीलाई ताकेता गर्दै दुई तिहाइ जनमतको सरकार आफ्नै कुबुद्धिले घर न घाटको भएको प्रतिक्रिया दिएका छन् । जनताले विश्वास गरेर मत हालेको भए पनि केपी ओलीले जनताबाट निर्माण भएको संविधान मार्न खोज्दा आफैँ सत्ताबाट बाहिरिनुपरेको उनको भनाई छ । ओलीले भ्रष्टाचारको पहाड र कुशासनको शिखर निर्माण गरेको भट्टराईको आरोप छ ।
भट्टराईले २०७२ सालमा निर्माण भएको संविधानले पनि जनताले चाहेको सबै परिवर्तनलाई संस्थागत गर्न नसकेको तर्क गरे । ‘संसारमा कुनै पनि परिवर्तन एक्कै झड्कामा पूरा हुँदैन, समय सापेक्ष ढङ्गले परिवर्तन हुँदै जान्छ’, उनले भने, ‘बाँकी काम पूरा गर्न नथाकेका, नहारेका जिउँदा मान्छेहरू फेरि अगाडी आउनुपर्छ ।’






















