रेशम चौधरीले गठन गरे ‘नागरिक उन्मुक्ति पार्टी’

जगत ठाडा मगर
२०७८ पुस १९ | मध्यान्ह ०३:०९ बजे

काठमाडौं । निलम्बित सांसद रेशम चौधरीले नयाँ दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीको समर्थित नेताहरुले उनकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिइएको हो ।
दल दर्ताका लागि भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगेका हुन् ।
पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भइरहेको छ । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर गरेपछि उनी अहिले पनि कैद भुक्तानका लागि कारागारमा छन् ।
अहिले नागरिक उन्मुक्ति पार्टीको नेतृत्व श्रेष्ठले गर्ने र पछि आफू नै अध्यक्ष रहनेगरी पार्टीलाई अघि बढाउने चौधरीको योजना छ ।






















