बुटवलबाट लागुऔषधसहित चार जना पक्राउ


बुटवल, पुस १९ । प्रहरीले रुपन्देहीबाट चार जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवल र प्रहरी चौकी खैरेनीले दुई छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरी चौकी खैरेनी रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार देबदह नगरपालिका –२ ढेकार श्री चोकबाट ओमसतिया–६ बस्ने ३७ वर्षीय बर्मानन्ध धरिकारसहित २ युवालाई नियन्त्रणमा लिएको छ । लु ५५ प २२०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई खानतलासी गर्दा २१ पुरियामा ब्राउन सुगर, १८ हजार ५ सय नगद र ४ थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
सोमबार इलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुटवल उपमहानगरपालिका–९ इट्टाभट्टीबाट २ युवालाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ । कास्कीस्थित पोखरा महानगरपालिका–१३ का २४ वर्षीय सरण गुरुङ र सोही ठाउँका १९ वर्षीय युगेन गुरुङलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूको साथबाट डाईजेपाम–४५ एम्पुल, नुफिन–४५ एम्पुल, फेनारागन–४५ एम्पुल र बिभिन्न किसिमका थान २ मोबाइल बरामद गरीएको छ ।






















