पुर्बी तराईको सिरहामा अज्ञात समुहद्वारा ट्रकमा आगजनी


बिनोद मण्डल
सिरहा, पुस १९ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिराहाको मिर्चैया नगरपालिका– ६ बतहा पुलमा अज्ञात समूहले एउटा ट्रकमा आगजनी गरेको छ । हिमालय सुगर मिलमा उखु अनलोड गरेर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.४ख १००९ नम्बरको ट्रकमा आज बिहान ६ बजे अज्ञात समूहले आगजनी गरेको हो ।
आगजनीका कारण ट्रकको अगाडिको भाग जलेको छ । ट्रकमा लगाइएको आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिप्रसाद ओलीले बताए । ट्रकमा आगजनी गरेको व्यक्तिको खोजी भइरहेको डिएसपी ओलीले बताए । यसअघि जनमत पार्टीका कार्यकर्ताले घोषित किसान आन्दोलन उल्लंघन गरेको भन्दै सिराहाको चोहर्वामा एक ट्रकमा आगजनी गरेको थियो ।
सिके राउत नेतृत्वको जनमत पार्टीले गत पुस १५ गतेदेखि तराई–मधेसका जिल्लाअन्तर्गत पूर्व–पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरेको छ । बन्दका कारण सप्तरीमा पनि ट्रकमा आगजनी गरिएको थियो ।






















