पत्रकार दावी गर्ने एकजना ८९२ एम्पुल लागु औषधसहित काठमाडौबाट पक्राउ

जगत ठाडा मगर
२०७८ पुस १६ | मध्यान्ह ०४:०९ बजे

काठमाडौ, पुस १६ । काठमाडौं महानगरपालिका–३२ स्थित जडिबुटीबाट प्रहरीले युगान्तर मिडियाको बजार प्रतिनिधिको परिचय पत्र बोकेका एकजनालाई लागु औषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ खनियाँबास गाउँपालिका–४ घर भई अहिले तारकेश्वर नगरपालिका–११ स्थित लोलाङ बस्ने वर्ष ४६ का लेखबहादुर तामाङ छन् । उनको साथबाट ८ सय ९२ एम्पुल लागुऔषध बरामद गरिएको छ ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर सुरेशराज भट्ट नेतृत्वको टोलीले उनको साथबाट नुर्फिन २८६ एम्पुल, फेनारगन २९२ एम्पुल र डाइजेपाम २८४ एम्पुल बरामद गरेको हो । आरोपीले आफुलाई पत्रकार दावी गरेको तर, त्यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
जडिबुटीस्थित मनोहरा फलफुल तथा तरकारी बजार नजिकैबाट पक्राउ परेका तामाङलाई कोटेश्वर प्रहरीको हिरासतमा राखिएको छ ।






















