राजनीति

गृहमन्त्री खाँड : सहमतिका आधारमा नेपालमा धेरै कुरा भएको भन्दै, एमसीसीको बारेमा सहमती हुन्छ

जगत ठाडा मगर
२०७८ पुस १६ | मध्यान्ह ०१:०९ बजे

पोखरा, पुस १६ । गृहमन्त्री बालकृष्ण खाँणले अहिलेको नेपालको राज्य प्रणाली स्वतन्त्र पत्रकारिताका पक्षमा रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले लोकतान्त्रिक शासन व्यवस्थामा पत्रकारिता पनि स्वतन्त्र रहने उल्लेख गरे ।

गृहमन्त्री खाँणले लोकतात्रिक मूल्य पद्धति र स्वतन्त्र पत्रकारिताको अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै पत्रकारिता र लोकतन्त्र एक सिक्काका दुई पाटा रहेको स्पष्ट पारे । उनले भने, “प्रदेशसभा र राष्ट्रियसभालाई स्वतन्त्र पत्रकारिताका पक्षमा कानून निर्माण गर्न नेपाल सरकारकोतर्फबाट आग्रह गर्न चाहन्छु । नयाँ बन्ने वा संशोधित हुने कानुन स्वतन्त्र पत्रकारिताका पक्षमा हुनुपर्दछ ।”

गृहमन्त्री खाँणले संविधानसभाबाट बनेको वर्तमान संविधानलाई सबै राजनीतिक दल मिलेर सफल बनाउँदै अगाडि बढाउनुपर्नेमा जोड दिए । राष्ट्रिय राजनीतिको मूलधारमा नआएका राजनीतिक पार्टीसँग पनि सरकारले संवादका माध्यमबाट मुलुकमा शान्तिसुरक्षा र अमनचयन स्थापना गर्ने तथा संविधानलाई सबैले अपनत्व गर्नसक्ने बनाउने प्रतिबद्धता उनले व्यक्त गरे ।

स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन समयमै सम्पन्न हुने उनको भनाइ थियो । अमेरिकी सहयोग परियोजना(एमसिसी) सबै राजनीतिक दलबीचको सहमतिमै अगाडि बढाइने उनले उल्लेख गरे । नेपाल सरकारले नै जलविद्युत् परियोजना र सडक पूर्वाधारका लागि एमसिसी प्रस्ताव गरेको बताउँदै उनले सो अनुदान सहयोगको सदुपयोग गर्न सक्नुपर्ने उल्लेख गरे ।

उनले भने, “एमसिसी देश र जनताका लागि हो, राष्ट्रिय सहमतिको प्रयत्न गर्दै सबैले मिलेर यसलाई अघि बढाउँछौँ । सहमतिका आधारमा नेपालमा धेरै कुरा भएका छन् । यसमा पनि सहमति हुन्छ ।”

कमेन्टहरु