सीके राउतको कच्चा नेतृत्वका कारण अराजक बन्दै आन्दोलन, तराईका जिल्लाबासी आन्दोलनको चपेटामा


जनकपुरधाम । स्वतन्त्र मधेसको मागसहित आन्दोलन गर्दै आएका सीके राउतले २४ फागुन २०७५ मा आफ्नो पृथकतावादी अभियान परित्याग गरेपछि धेरैलाई लागेको थियो – राउत अब प्रतिस्पर्धात्मक राजनीतिमा सामेल हुनेछन् र उनको जनमत दल तराईको वैकल्पिक शक्तिका रूपमा उदाउनेछ। हुन पनि पटकपटक फुटिरहने र सत्ता स्वार्थमा मात्र केन्द्रित रहने मधेस केन्द्रित दलबाट नागरिक वाक्कदिक्क छन्। सोही कारण जनमत पार्टीप्रति मधेसमा एक किसिमको भरोसा देखिनु स्वाभाविकै थियो।
अध्यक्ष राउतले गान्धीका आदर्श र बुद्धका उपदेशलाई आत्मसात् गर्दै अघि बढ्ने बताएर शान्तिपूर्ण राजनीतिप्रति आफू दृढ रहेको अभिव्यक्ति दिएपछि उनीमाथि लागेको ‘पृथकतावादी’ को आरोप पनि सेलाउँदै थियो। तर उनी नेतृत्वको जनमत पार्टीका पछिल्ला गतिविधि अराजक मात्रै छैनन्, कानुन हातमा लिएर विधिको शासनलाई नै चुनौती दिने खालका छन्। त्यसो हुनुमा अध्यक्ष राउतको उद्देश्य गलत नरहे पनि उनको नेतृत्व क्षमता कमजोर र कच्चा त होइन भन्ने प्रश्न उठ्न थालेको छ। जनमत पार्टीले गत कात्तिक ८ गतेदेखि प्रदेश २ मा आन्दोलन गरिरहेको छ। भ्रष्टाचार र बेथिति व्याप्त रहेको तथा कर्मचारी र उनीहरूले पालेका गुण्डाहरूबाट जनता पीडित भइरहेकाले आन्दोलित हुनुपरेको दाबी उक्त पार्टीको छ। जानकारहरू सीके राउतको नेतृत्व र उद्देश्य गलत नरहे पनि उनको दलको क्रियाकलाप हिंसात्मक हुन थालेको बताउँछन्।
राउतको कच्चा नेतृत्वको परिणाम पनि जनमत पार्टीले राजनीतिक संस्कारविपरीतका गतिविधि गर्दै आएको कतिपयको बुझाइ छ। यद्यपि जनमत पार्टीका अध्यक्ष राउत भने आफूहरूका गतिविधि अराजक नरहेको दाबी गर्छन्। मेधसका पुराना नेता भरतविमल यादव भन्छन्, ‘सीके राउत आफूलाई गान्धीवादी भन्दै आएका छन्। अर्कोतर्फ उनको पार्टी अराजक क्रियाकलापमा केन्द्रित छ। यसमै उनको विरोधाभास छ।’ जनमत पार्टीले सरकारविरुद्ध नभएर जनताकै विरुद्धमा आन्दोलन गरेर लोकप्रियता गुमाउँदै गएको छ। केही महिनाअघि जनकपुरमा खानेपानी कार्यालयका एक कर्मचारीमाथि उक्त पार्टी कार्यकर्ताले दुर्व्यवहार गर्नु यसको एउटा उदाहरण हो। व्यक्तिलाई नै हतोत्साहित बनाउने र उसको प्रतिष्ठामा आँच आउने गतिविधिले जनमत पार्टीको लोकप्रियता कमजोर हुँदै गएको छ। यादव भन्छन्, ‘कसैले अनियमितता गर्छ भने उसमाथि कारबाही गर्न कानुनी प्रक्रिया छन्। कर्मचारीलाई कालोमोसो दलेर बजार घुमाउनु कुनै पनि हालतमा राजनीतिक संस्कार होइन। यस्ता गतिविधिले जनमत आफैं ओरोलातर्फ लागेको छ।’
तराई-मधेसको विकल्पका रूपमा उदाउने अपेक्षा गरिएको सीके राउत नेतृत्वको जनमत पार्टी पछिल्लो समय अराजक गतिविधिका कारण विवादमा तानिएको छ। उसका अराजनीतिक गतिविधि नियन्त्रणमा बेवास्ता गरेको भन्दै प्रहरी प्रशासनको पनि आलोचना हुन थालेको छ। मुलुकमा तीन तहका सरकार छन्। तर सेवा प्रवाहमा भइरहेको ढिलाइ र अनियमितताका कारण नागरिक आजित छन्। सरकारी सेवा प्रवाहप्रति जनस्तरमा सकारात्मक धारणा बन्न सकेको छैन। यस्तो अवस्थामा कुनै दलले कानुनी प्रक्रियामा टेकेर विरोध या आन्दोलनका गतिविधि गर्दा प्रभावकारी हुने र दलप्रति नागरिकको विश्वास पनि बढ्न सक्ने बुझाइ यादवको छ। उनी भन्छन्, ‘आपराधिक गतिविधिले त राजनीतिक दल स्थापित हुन सक्दैन। राजनीतिक दलको काम लाठी र भाटा बोकेर हिँड्ने हुँदै होइन।’ केही दिनअघि जनमत पार्टीका कार्यकर्ताले सिरहाको लहानमा एउटा ट्रकमाथि आगजनी गरेर मजदुरलाई तर्साए।
सिरहाको औरही गाउँपालिकामा मलखाद लुटपाटमा संलग्न केहीलाई स्थानीय प्रशासनले पक्राउ गरेर मुद्दा चलायो। उक्त घटनाका विरुद्धमा स्थानीयले गरेको चक्काजाममा जनमत पार्टीका कार्यकर्ता घुसेर जथाभावी तोडफोड मच्चाउन थालेका थिए। त्यसलाई रोक्न प्रहरीले बल प्रयोग गर्दा झडप र निषेधाज्ञासम्मको अवस्था सिर्जना भएको थियो। यादव भन्छन्, ‘मजदुरको ट्रकमा आगजनी गर्दैमा हुन्छ? शान्तिपूर्ण आन्दोलनका प्रक्रिया छँदैछन् नि।’ यसमा प्रहरी प्रशासन पनि दोषी रहेको बताउँछन् यादव। कुनै समूहले अराजक गतिविधि गर्छ भने त्यसलाई कानुनी उपचारसहित सही बाटोमा ल्याउने जिम्मेवारी त प्रहरी प्रशासनको हो। यादव भन्छन्, ‘सार्वजनिक सम्पत्तिमा तोडफोड हुँदा र व्यक्तिको अपमान हुँदा पनि प्रहरी प्रशासन मौन हुनु गैरजिम्मेवारीपनको पराकाष्ठा हो।’ यस घटनामा सरकारले शान्तिसुरक्षा दिलाउन असफल भएको उनको भनाइ छ। अब जनमत पार्टीप्रति पनि नागरिकको विश्वास गुम्दै गएको यादव बताउँछन्। उनी भन्छन्, ‘जनमत पार्टीले या त हिंसात्मक आन्दोलन गर्छु भन्नुपरो। नत्र शान्तिपूर्ण राजनीतिक गतिविधि गर्छौं भनेर हिंसामा उत्रनु भएन। तीन महिना अघिसम्म मधेसमा सीके राउतमाथि जुन झुकाव थियो पछिल्ला गतिविधिले उनीप्रति जनतामा नकारात्मक धारणा बनेको छ। अन्य दलभन्दा पनि खत्तम रहेछ भन्ने धारणाको विकास भएको छ।’ कुनै पनि दल लोकप्रिय हुने उसकै क्रियाकलापका कारण हो। जुन दलले समसामयिक विषयमा जल्दाबल्दा मुद्दा अघि सारेर जनताको विश्वास जित्न सक्छ, सोही दल सबैको प्रिय हुन सक्छ।
यसका लागि दलका गतिविधि र नेतृत्व दुवै सही हुनुपर्ने बताउँछन् यादव। उनी भन्छन्, ‘जनमत पार्टीका पछिल्ला गतिविधिले त्यसप्रति जनताको सेन्टिमेन्टमा ह्रास आएको छ। त्यसैले जनमत आफ्नै गतिविधिले पतनको बाटोमा लागेको छ।’ जनमत पार्टीले पृथकतावादी गतिविधि अन्त्य गर्दा ओली नेतृत्वको सरकारसँग सहमति गरेको थियो। ओली प्रधानमन्त्री छउन्जेल जनमतका गतिविधि सांगठनिक विस्तारमा मात्र केन्द्रित थिए। दलका कार्यकर्ता अराजक क्रियाकलापमा सामेल थिएनन्। तर ओलीले सत्ता छाडेपछि जनमतका कार्यकर्ता अराजक बन्न थालेका हुन्। कतिपयचाहिँ ओलीसँग सीकेको सम्बन्ध सुमधुर रहेको र ओलीसँगकै मिलिभगतमा क्रियाकलाप सञ्चालन भइरहेको शंका गर्छन्। यादव भन्छन्, ‘यदि त्यस्तो हो भने सीके राउतको कच्चा नेतृत्वको परिणाम हो। दलका गतिविधि लोकप्रिय हुन नेतृत्व पनि परिवक्व हुँदै जानुपर्छ। सीकेमा त्यस्तो देखिएन।’ जनमत पार्टीका गतिविधि मानव अधिकारका दृष्टिकोणले पनि अराजक छन्। शान्तिपूर्ण रूपमा धर्ना र विरोध गर्न पाउनु व्यक्ति वा संगठनको मौलिक अधिकार हो। तर हिंसात्मक गतिविधि गर्ने छुट कसैलाई पनि छैन।
मानव अधिकारकर्मी चरण प्रसाई भन्छन्, ‘तोडफोड आगजनी, हिंसात्मक कार्यलाई शान्तिपूर्ण भनिँदैन। यो अराजनीतिक कार्य हो। शान्तिपूर्ण राजनीतिक संस्कार होइन।’ यस्ता कार्यले जनमत पार्टीलाई शान्तिपूर्ण राजनीतिक गतिविधिमा आएको भन्न नमिल्ने उनको तर्क छ। जनमत पार्टीले पृथकतावादी गतिविधि अन्त्य गर्दा ओली नेतृत्वको सरकारसँग सहमति गरेको थियो। ओली प्रधानमन्त्री छउन्जेल जनमतका गतिविधि सांगठनिक विस्तारमा मात्र केन्द्रित थिए। दलका कार्यकर्ता अराजक क्रियाकलापमा सामेल थिएनन्। तर ओलीले सत्ता छाडेपछि जनमतका कार्यकर्ता अराजक बन्न थालेका हुन्।
हुन पनि सीके राउतको समूह भूमिगत हुँदा शान्तिपूर्ण थियो। राजनीतिक दलमा संलग्न भएपछि अराजक गतिविधिमा केन्द्रित हुन थालेको छ। ‘राजनीतिको आवरणमा हिंसात्मक गतिविधि गर्न छुट दिनु हुँदैन। यसमा सरकारको पनि कमजोरी हो। यिनका गतिविधिलाई प्रोत्साहित नगरी कानुनी दायरामा ल्याउनुको विकल्प छैन,’ प्रसाई भन्छन्। जनमत पनि राजनीतिक संस्कारअनुसार चल्नुपर्ने सुझाव उनको छ। उनी भन्छन्, ‘व्यक्तिगत वा सार्वजनिक सम्पत्तिमा आगजनी गर्ने र व्यक्तिलाई यातना दिने घटना मानव अधिकार विरोधी क्रियाकलाप हुन्। यो आपत्तिजनक र भर्त्सनायोग्य छ।’
जनमत पार्टीका अध्यक्ष राउत भने आफूहरू हिंसात्मक गतिविधिमा संलग्न नरहेको बरु प्रशासनले उल्टै दमन गरेको दाबी गर्छन्। उनी भन्छन्, ‘किसान आन्दोलनमा सरकार र प्रहरी प्रशासनले दमन गरिरहेको छ। ठाउँठाउँका घटनाले त्यही पुष्टि गर्छ।’ उनले किसानलाई पक्राउ गर्दै मुद्दा चलाउँदै जान थालेपछि प्रतिकारमा उत्रिँदा झडप हुन पुगेको तर्क गरे। किसानले शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा प्रहरी प्रशासनबाट ठूलो मात्रामा बल प्रयोग भएको उनको आरोप छ। किसानमाथि दमन भएको विषयलाई लिएर प्रशासनले नै भ्रम फैलाइरहेको उनले बताए। उनले भने, ‘किसान जागेपछि भ्रष्टाचारीलाई अप्ठ्यारो पर्ने भएकाले भ्रम फैलाइएको हो। किसानले विधिवत् रुपमा सात बुँदे माग राखेका छन्। हामी त्यही माग पूरा गराउन केन्द्रित छौं। अराजक बनेका छैनौं।’ राज्यले किसानको अपमान गरेर जनताकै अपमान गरेको उनको भनाइ छ।
अध्यक्ष राउत आफूहरू प्रतिस्पर्धात्मक राजनीतिक पद्धतिका रूपमा सक्रिय रहेको र कुनै पनि मतभेदलाई संवादका माध्यमबाट समाधान गर्न तयार रहेको बताउँछन्। भन्छन्, ‘किसानका माग पनि संवादबाटै समाधान होस् भन्ने हाम्रो आग्रह छ।’ यसका लागि व्यक्तिगत रूपमा प्रयास जारी राखे पनि सरकारमा बसेका मान्छेमा रहेको दम्भले समस्या समाधान हुन नसकेको उनको भनाइ छ। उनी भन्छन्, ‘हामी व्यक्तिगत रूपमा लागेका होइनौं। इन्जिनियरकै सन्दर्भमा पनि बाहिर आएजस्तो होइन। त्यसको वास्तविकता पीडितले भोगेका छन्। अहिले पनि हामी व्यक्ति विशेषमा लागेका होइनौं।’
सिरहाको औरही गाउँपालिकाले वितरणका लागि राखेको गहुँको बिउ वितरण गर्नमा ढिलो गरेपछि किसानले लुटेर लगेका थिए। सोही घटनामा प्रहरीले किसानमाथि मुद्दा चलाएपछि जनमत पार्टीका कार्यकर्ताले प्रर्दशन गर्दै आइरहेका छन् । यस क्रममा जनमत पार्टीका कार्यकर्ताले दर्जनौं गाडीमा ताडफोड गर्नुका साथै आगजनी गरेका थिए। यस घटनामा प्रहरीले जनमत पार्टीका कार्यकर्तालाई नियन्त्रणमा लिएपछि अवस्था थप तनावग्रस्त बनेपछि सिरहामा दुई दिनसम्म निषेध आदेश लगाइएको थियो।
यस्ता छन् जनमतका गतिविधि
गत असोज १८ गते जनमत पार्टीका नेता-कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा तोडफोड गरे। नगर प्रमुख तथा उपप्रमुखमध्ये कोही नभेटिएपछि कार्यकर्ताले उपमहानगरभित्र रहेको न्यायिक समितिको कार्यालयमा तोडफोड गरेका थिए। सोही दिन उनीहरूले मुख्यमन्त्री र प्रदेश सरकारविरुद्ध नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेपछि कारबाहीका लागि दबाब बढाउने उद्देश्यले जनमतका कार्यकर्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयसमेत घेराउ गर्न पुगेका थिए। जनमतका कार्यकर्ताले यसअघि खानेपानी तथा ढल व्यवस्थापन विभागमा पनि तालाबन्दी गरेका थिए।
अध्यक्ष राउत आफूहरू प्रतिस्पर्धात्मक राजनीतिक पद्धतिका रूपमा सक्रिय रहेको र कुनै पनि मतभेदलाई संवादका माध्यमबाट समाधान गर्न तयार रहेको बताउँछन् । कात्तिक ४ गते जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाममा खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुश्वाहामाथि दुर्व्यवहार गरे। भ्रष्टाचार बढ्दै गइरहेको भन्दै उनीहरुले कुश्वाहलाई अर्धनग्न पारेर नगर परिक्रमा गराएका थिए। जनमत पार्टीका अध्यक्ष सीके राउतको घरअगाडि ढल निर्माणका क्रममा खाल्डो नपुरेको र वर्षाका कारण पानी निकासमा थप समस्या भइरहेको आरोप उनीहरुको थियो।
कात्तिकमै धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित फकिर चन्द माध्यमिक विद्यालयका प्रधानाध्यापक बैजु साहलाई सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेका थिए। साहलाई सीके राउतका कार्यकर्ताले चप्पलले हान्नुका साथै कालोमोसो दलेका थिए। पछिल्लो किसान आन्दोलनका क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले सिरहाका प्रहरी उपरीक्षकलाई जनकारवाही गर्ने चेतावनी दिएका थिए। पक्राउ परेका आफ्ना कार्यकर्तालाई २४ घण्टाभित्र नछोडिए सिरहा बजारको बीच चोकमा प्रहरी उपरीक्षक (एसपी) हीराबहादुर पाण्डेलाई जनकारबाही गर्ने चेतावनी राउतले दिएका हुन्।






















