देश

सडकको मध्य भागमा बनाइएको संरचना स्वर्गलोक एक्सप्रेस

जगत ठाडा मगर
२०७८ पुस १५ | मध्यान्ह ०८:०९ बजे

बिनोद मण्डल

सिरहा, पुस १५ । नेपालको एक मात्र लोकमार्ग महेन्द्र हाईवेकाे पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सरसर्ती हेर्दा ठाउँ ठाउँमा मूल सडकमा विभिन्न शालिक, मन्दिर आदिको निर्माण भएको छ ।

सांस्कृतिक एवं धार्मिक र राजनीतिक हिसाबले बनाइएका सालिकहरू सडक अवरुद्धका बाधक मानिन्छ । बारम्बार सडक दुर्घटना हुँदा पनि ती संरचनाहरु मौन, सहमतिमा यथावत रहेका छन् जसले गर्दा गाडी दुर्घटनाको सास्ती आम मानिसले भोग्न बाध्य भएका छन् ।

बर्सेनि दर्जनौं दुर्घटना र अकालमा ज्यान गुमाउनेको संख्या बढ्दो छ । सार्वजनिक चासोको अत्यन्त गहकिलो विषय सडक तामझाम देखाउने थलो नभएर प्रत्येक सडकको चोक चौराहामा सुरक्षित वातावरण सिर्जना आजको आवश्यकता रहेको छ । सडकको अवस्था हेर्दा सडकमा बनाइएका भौतिक संरचनाको निर्माणले सजिलै स्वर्ग पुग्न सकिने वातावरणको सिर्जना हामी आफैले गरेका छौं ।

राजनीतिक इतिहासमा सडक शक्ति प्रदर्शन गर्ने थलो भएको छ साथै शहीद गेट सहिद पार्क र नेताको शालिक स्थापना गर्ने ठाउँ भएको अवस्था रहेको छ । धार्मिक आस्थाका हिसाबले देवी देवताको मठ मन्दिर बनाउने असल वातावरण भएको ठाउँको रूपमा सडकलाई मानिन्छ । सडक मिचेर भौतिक संरचनाको निर्माण गर्दा मौन सहमति दिने स्थानीय निकाय र सडक विभाग मुख्य दोषी मानिन्छन् ।

सिरहाको लहान नगरपालिकाको सहिद चोकमा बनाइएको सहिद पार्क र सिरहा चोहर्वा सडकखण्डमा पर्ने नरहास्थित मुख्य सडकमा निर्माण गरिएको हनुमान मन्दिर एउटा हिसाबले आफ्नो ठाउँमा ठीक होला तर दुर्घटना समीप रहेको यस्ता संरचनाको व्यवस्थापनमा सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण हुन आजको आवश्यकता रहेको छ ।

कमेन्टहरु