नेपाली भलिबल टोली स्वदेश फर्कियो


काठमाडौं । बंगलादेशको ढाकामा मंगलबार सम्पन्न भएको एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र चौथो भएको पुरुष टोली बिहीबार स्वदेश फर्किएको छ ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष निरोज मास्के, महासचिव जितेन्द्र चन्दलगायत संघका पदाधिकारीले स्वागत गरेका थिए । टोलीलाई बाजा बजायर स्वागत गरिएको थियो ।
मंगलबार सम्पन्न सेन्ट्रल जोनमा महिला टोलीले उपाधि जित्दा पुरुष टोली चौथो भएको थियो । ६ राष्ट्र सहभागि सेन्ट्रल जोनमा महिला टिमले उज्वेकिस्तानलाई फाइनलमा ३-२ ले पारजित गर्दै उपाधि रक्षा गरेको थियो ।
पुरुषतर्फ भने ५ टिम सहभागि रहेकोमा नेपाल तेस्रो स्थानको लागि भएको खेलमा उज्वेकस्तानसंग ३-० ले पराजित हुँदै चौथो भएको थियो ।






















