Opens in a new tab

राजनीति

माओवादी केन्द्रको नयाँ नेतृत्वका लागि आज कार्यतालिका सार्वजनिक गर्ने तयारी

जगत ठाडा मगर
२०७८ पुस १५ | बिहान १०:०९ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को नयाँ नेतृत्व चयनका लागि बिहिबार कार्यातालिका सार्वजनिक गर्ने निर्वाचन समितिले तयारी गरेको छ । आज विधान पारित गर्ने र त्यसपछि निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिका प्रमुख विष्णु पुकार श्रेष्ठले बताए ।

‘आज विधान पारित भएपछि हामी निर्वाचन कार्यतालिका सार्वजनिक गर्छौ । सम्भवत भोलि निर्वाचन हुन्छ होला,’ उनले भने, ‘२ सय ९९ जनाको केन्द्रीय कमिटी बनेपछि पादाधिकारीको निर्वाचन कार्यतालिका बनाउने हाम्रो तयारी छ।’ केन्द्रीय कमिटीले चाहे मात्रै केही दिन पदाधिकारीको निर्वाचन धकेलिने उनले बताए । महाधिवेशनलेनै पदाधिकारी चयन गर्दा सकारात्मक सन्देश जाने श्रेष्ठको भनाइ छ ।

निर्वाचन आयोगमा ढिलोमा पनि १ महिना भित्र नयाँ कार्यसमितिको नामावली दिन पर्ने भएकाले पदाधिकारी चयनमा धेरै ढिलो गर्न नमिल्ने उनको बताए । काठमाडौमा जारी नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिवेदनमाथि समूहगत निष्कर्ष तथा सुझाव प्रस्तुत गर्ने क्रम जारी छ । प्रतिवेदनमाथि २५ वटा समूह बनाएर छलफल गरिएकोमा बुधबार ११ वटा समूहले आफ्नो निष्कर्ष प्रस्तुत गरेका थिए भने बाँकी समूहले आज प्रस्तुत गर्नेछन् ।

सबै समूहको प्रस्तुतिपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची छ । बन्दसत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष प्रचण्डले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदन र स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

कमेन्टहरु