लाहाचोक सबस्टेसन सञ्चालन


बुटवल । नयाँमोदी–लाहाचोक १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइन बुधबारदेखि सञ्चालनमा आएको छ । लाहाचोकस्थित १३२/३३ केभी सबस्टेसनमा ३० एमभीएको पावर ट्रान्सफर्मर चार्ज गरिएको छ।
उक्त सबस्टेसनबाट कास्कीको माच्छापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा विद्युत् आपूर्ति हुनेछ । अब त्यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरीय र भरपर्दो हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। भने, ‘पहिलेको प्रसारण लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेजलगायत समस्या थियो। अब विद्युत् चुहावटसमेत घट्छ।’
यो खण्ड नयाँमोदी–लेखनाथ प्रसारण लाइन आयोजनामा पर्छ। यस खण्डमा ६८ वटा टावर निर्माण गरिएको छ। २१ किलोमिटर तार तानिएको छ। २०१८ जुलाईमा सुरु भएको आयोजनाअन्तर्गत् यो खण्ड निर्माण स्थानीयको अवरोध र वनको विवादका कारण लामो समय प्रभावित भएको थियो। नयाँ सबस्टेसनबाट विद्युत् सेवा पाएपछि स्थानीय हर्षित् बनेका छन्।






















