१६ कराेड रुपैयाँ हिनामिना गरेकाे आरोपमा सप्तकाेशी बैंकका सीईओ सुवेदी पक्राउ


काठमाडौं । करिब १६ करोड रकम हिनामिना गरेको आरोपमा सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीसहित चारजना पक्राउ परेका छन् । बैंकको रेमिटेन्सको १५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा सीईओ सुवेदीलाई बुधबार साँझ मोरङ प्रहरीले पक्राउ गरेको हो ।
धनकुटामा केन्द्रीय कार्यलय रहेकाे सप्तकाेशी डेभलपमेन्ट बैककाे कर्पाेरेट कार्यालय विराटनगरमा रहेको छ । बैंककाे कर्पाेरेट कार्यालयमा रहेकाे रेमिट्यान्स शाखाबाट उक्त रकम हिनामाना भएको खुलेपछि प्रहरीले अनुसन्धान गरेकाे थियाे । हिनामिना भएकाे रकममध्ये अधिकांश सीईओ सुवेदीकै आफन्तको खातामा जम्मा भएको पाइएपछि उनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीकाअनुसार पछिल्लो ६ वर्षयता बैंककाे करिब १६ कराेड रकम हिनामिना हुँदा बैंक बेखबर देखिनु र प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा अधिकांश पैसा ‘ट्रान्सफर’ भएको देखिएपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएकाे हो । ‘घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको छ,’, मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले भने ।
बैंकको रेमिट शाखाबाट भएको यो हिनामिनामा बबिता सुवेदीको नाममा मात्रै १४ करोडभन्दा बढी रकम ‘ट्रान्सफर’ भएको पाइएको छ । उनी सीईओ नविन सुवेदीकी नातेदार हुन् । सन् २०१६ देखि २०२१ अगस्ट २ तारिखसम्ममा उनकाे प्राइम कमर्सियल बैंकको खाता नम्बर ९९९००००१५००१५ बाट १४ करोड रकम गैरकानुनी ढंगबाट निकालिएको अनुसन्धानबाट खुलेकाे छ । बैंककै रेमिट शाखा प्रमुख हिमाल भट्टराई पनि प्रहरी नियन्त्रणमा छन् ।
रेमिट शाखाका प्रमुख भट्टराई पनि सीईओ सुवेदीका नातेदार हुन् । हिनामिना भएको रकममध्ये धेरै बबिताको खातामा र भट्टराईको विभिन्न पाँचवटा बैंकको खातामा एक करोड रुपैयाँ जम्मा भएको स्राेतले जनाएकाे छ । यस्तै, सीईओ सुवेदीकी भाउजू भगवती सुवेदी, साला साजन पोखरेल, जेठी सासु बानी पोखरेल लगायतको खातामा रकम पठाएको स्रोतले जनाएको छ ।






















