आफ्नो कार्यकर्ता प्रशासनले रिहा गरे पनि सिरहामा जनमत पार्टीले आन्दोलन फिर्ता लिएनन्


बिनोद मण्डल
सिरहा, पुष १४ । सिरहाको औरही गाउँपालिकाबाट गहुँको बिउ लुटपाट भएको विषयमा विवाद भएपछि सिके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन गरिरहेको छ ।
पुस ६ मा किसानहरूलाई निःशुल्क गहुँको बिउ वितरण गर्दा समयमै प्राप्त गर्न नसकेको भनेर केही व्यक्तिले बिउ भण्डारण गोदामको ताला तोडेर लुटेका थिए । त्यसबारे औरही गापा अध्यक्षले दिएको निवेदनका आधारमा स्थानीय मिथिलेश यादवलाई प्रहरीले आपराधिक उपद्रव मुद्दा चलाएको थियो । सो विषयलाई लिएर जनमत पार्टीले पुस ११ मा विभिन्न ठाउँमा मशाल जुलुस र तत्पश्चात् ३ दिनसम्म आमहडताल, लोकमार्ग अवरोध जस्ता विरोधका कार्यक्रम गर्दै आएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालयले प्रदर्शनको क्रममा पक्राउ परेका सिके राउत नेतृत्वको जनमत पार्टीका १७ जनालाई रिहा गरेको छ । जिल्ला प्रशासनले निषेधाज्ञा पनि फिर्ता लिएको छ । त्यस्तै मिथिलेश यादवलाई अदालतले साधारण तारेखमा रिहा गरेको छ । प्रशासनले निषेधाज्ञा फिर्ता लिएर कार्यकर्ता रिहा गरे पनि सो पार्टीले आफ्ना आन्दोलनको कार्यक्रम जारी राखेको छ ।
जनमत पार्टीले औपचारिक रूपमा आन्दोलनको कार्यक्रम फिर्ता लिएको घोषणा नगरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता (डिएसपी) सुवास बुढाथोकीले बताए । प्रदर्शनको क्रममा राउतका कार्यकर्ताले सडकमा गुडिरहेका १९ सवारी साधनहरू माथि तोडफोड र एउटा ट्रकमा आगजनी गरेका थिए ।
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबावु कबारीले राजनीतिक दलका प्रमुखहरूसँग छलफलपछि राउतका कार्यकर्तालाई थुनामुक्त गरेर निषेधाज्ञा फिर्ता लिएका हुन् ।






















