देश

सिरहामा तरकारी व्यापारीमाथि प्रहरीको दुर्व्यवहार

जगत ठाडा मगर
२०७८ पुस १३ | मध्यान्ह १२:०९ बजे

विनोद मण्डल
सिरहा । जनमत पार्टीको आमहडताललाई लक्षित गर्दै सिरहामा स्थानीय प्रशासनले आज र भोलि दुई दिन निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा कार्यान्वयन गराउने भन्दै प्रहरीले तरकारी व्यापारीमाथि बल प्रयोग गरेर बजार बन्द गराएको छ ।

आज बिहान गोलबजार राजमार्ग क्षेत्रको साप्ताहिक तरकारी बजारमा प्रहरीले व्यापारीमाथि ज्यादती गरेको पीडितहरूको गुनासो छ । राजमार्ग आसपास ५ सय मिटरभित्र निषेधाज्ञा जारी भएको भन्दै प्रहरीले जबरजस्ती बजार बन्द गराएको हो ।

सटरमा तरकारी बेच्ने किसानलाई समेत प्रहरीले दुर्व्यवहार गरेका छन् । तरकारी बिग्रिन्छ भनेर बिन्ती गर्दा पनि आफूमाथि हातपात गरेको गोलबजार- ३ का किसान मनोज लामाले बताए । ‘सटर बन्द गर नत्र पक्रेर लान्छु भनेर चेतावनी दिँदै सडकमै घिसारे । सटर बन्द गर्न बाध्य भएँ’, उनको गुनासो छ ।

असनपुरकी एक किसानी सेलोदेवी महतोले प्रहरी प्रशासनले तरकारी बेच्न नदिएको भन्दै गुनासो गरिन् । उनी भन्छिन्, ‘साँझमै खेतबाट टिपे । अहिले शिव मन्दिर नजिकै ४ बोरा तरकारी राखेको छु । तर, प्रशासनले बेच्न दिइरहेका छैन ।’ बिक्री गर्न नदिए तरकारी सडेपछि क्षतिपूर्ति कसले दिन्छ ? उनले प्रश्न गरिन् ।

इलाका प्रहरी कार्यालय गोलबजारको टोलीले निषेधाज्ञा पालना गर्न बजार बन्द गराउँदै हिँडेका छन् । बजार बन्द भएपछि जनजीवन प्रभावित बनेको छ । निषेधाज्ञाका कारण सडकमा जनमत पार्टीका कार्यकर्ता देखिएका छैनन् । सवारीसाधन भने निर्वाध चलिरहेका छन् । राजमार्गमा पर्ने गोलबजार, मिर्चैया, बन्दीपुर, लहान, धनगढी, जिरोमाइललगायतका बजारहरु बन्द गराइएको छ ।

औरही गाउँपालिकाले वितरणमा ढिलाइ गरेपछि गोदाममा राखेको साढे तीन सय बोरा गहुँको बीउ किसानले आफै झिकेर लगेका थिए । अध्यक्ष सिद्धार्थ यादवले उजुरी गरेपछि प्रहरीले एक किसान पक्राउ गरेको विरोधमा सीके राउतको पार्टी आन्दोलनमा उत्रिएको हो ।

आइतबार आमहड्ताल उल्लंघन गरेको भन्दै लाठीसहित सडकमा निस्किएका जनमत पार्टीका कार्यकर्ताले सवारीसाधन तोडफोड गरेका थिए । सो क्रममा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । कार्यकर्ता पक्राउको विरोधमा जनमत पार्टीले जिल्लाभर चक्काजाम आव्हान गरिएको थियो । आन्दोलन ध्वंसात्मक बनेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

सोमबार साँझ सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आज र भोलि दुई दिन बिहान ५ देखि बेलुका ७ बजेसम्म निषेधाज्ञाको घोषणा गरेका हुन् ।

कमेन्टहरु