देश

महोत्तरीमा अज्ञात समूहद्वारा पाँच पसलमा आगजनी, लाखौँको क्षति

जगत ठाडा मगर
२०७८ पुस १३ | बिहान ०९:०९ बजे

जलेश्वर । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३, भटौलिया बजारमा गए राति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरी लाखौँको क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा स्थानीय रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल, शम्भु साहको खाजा पसल र मंगल साहको चिया पसलमा अज्ञात समूहले गए राति करिब ९ बजेको समयमा आगजनी गरेको छ ।

आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेन्च, टेबुल, फ्रिज, भाँडाकँुडा, ग्यास सिलिन्डर, चुल्हा र घरसमेत जलेर पाँच लाख रुपैयाँ बढीको क्षति भएको पसलेहरूले बताएका छन् । पसलमा रातिको बेला कोही नभएको अवस्थामा आगजनी गरिएको थियो ।

आगो तत्कालै नियन्त्रणमा लिन नसक्दा सबै थोक जलेर नष्ट भई लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । रासस

कमेन्टहरु