मेला लगाउन विद्यालय बन्द


जाजरकोट । जाजरकोटको त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ । पुस १२ देखि १६ गतेसम्म विद्यालय बन्द गरी मेला लगाएको हो ।
रमाइलो मेला तथा संस्कृतिक मेला भन्ने नारा दिएर विद्यालय हाताभित्र कार्यक्रम सञ्चालन गरिँदा विद्यालय बन्द भएको हो । ‘विद्यालय बन्द गरेर मेला लगाउनु ठिक नभए पनि सर्वदलीय सहमति गराएर जिल्ला प्रशासन कार्यालयमा गई निर्णय गराएपछि मेरो मात्र के लाग्छ ?’, प्रअ भक्तबहादुर मल्लले भने । मेला लगाएवापत विद्यालयलाई रु ५० हजार दिएको समेत उनले बताए ।
कोभिडका कारण पढाई लामो समयसम्म बन्द भएर भर्खरै मात्र पढाइ सञ्चालन भएको विद्यालयमा मेला लगाएर पढाइ अवरुद्ध गरिएको छ । भेरी नगरपालिकाले दुई वर्षअघि विद्यालयमा मेला लगाउन नपाउने निर्णय गरेको थियो । राजा वीरेन्द्रको जन्मोत्सवमा लगाउँदै आएको यो मेला कोभिडका कारण बन्द हुँदै आएको थियो ।
मेला लगाउने भए पनि तल्लो थाप्लेमा ठाउँ हुँदाहुँदै पनि विद्यालयभित्रै लगाउनु र लगाउन बाध्य पार्नु सही नभएको सर्वसाधारणले बताएका छन् । भेरी ज्ञानोदय क्याम्पसमा बीएड प्रथम वर्षको परीक्षा चलिरहेकाले मेलामा होहल्ला हुँदा परीक्षा राम्रोसँग दिन नपाएको विद्यालय धर्म चन्दले बताए । रासस






















