देश

धनकुटाको भेडेटारमा खान महोत्सव हुने

जगत ठाडा मगर
२०७८ पुस १३ | बिहान ०७:०९ बजे

धनकुटा, पुस १३ । अग्रेजी नयाँ वर्षको अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा खाना महोत्सव हुने भएको छ। होटल एसोसिएसन अफ भेडेटारले अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसर पारेर खाना महोत्सव आयोजना गर्न लागेको हो।

महोत्सव पुस १६ देखि १८ गतेसम्म भेडेटार बजारमा आयोजना हुने एशोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए। विगत आठ वर्षदेखि आयोजना हुँदै आएको महोत्सव गत वर्ष कोरोना महामारीका कारण आयोजना गरिएन। यस वर्ष हुने महोत्सवमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक तरकारी तथा फलफूल प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरूको २४ वटा स्टल राखिनेछ। महोत्सवका लागि अहिले स्टल निर्माणको काम तीव्र रूपमा भइरहेको छ। पर्यटक स्वागत गर्न भेडेटार बजार क्षेत्रमा आर्कषक सजावट गरिने अध्यक्ष राईले बताए।

महोत्सवमा आउने आगन्तुकलाई हेलिटुर, प्याराग्लाइडिङ, माउन्टेन बाइक र विभिन्न टुर प्याकेजमा पाँचदेखि ३० प्रतिशतसम्म छुट र होटलमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। महोत्सवमा आउने पर्यटकलाई साँगुरीगढी गाउँपालिकाका साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झरना, शैलुङ डाँडा, बौद्ध बिहार, गुम्बा, ध्वजे डाँडा अजंगको वरको रुखलगायतका ठाउँमा घुमाइने भएको छ।

यसैगरी महोत्सवमा मगर, लिम्बू, राई, थारु, धिमाल र याखा जातिको साँस्कृतिक झाँकीसमेत प्रदर्शनी गरिने भएको छ।

कमेन्टहरु