Opens in a new tab

देश

सिरहामा आज र भोलि २ दिनका लागि निषेधाज्ञा जारी

जगत ठाडा मगर
२०७८ पुस १३ | बिहान ०६:०९ बजे

बिनोद मण्डल

सिरहा, पुस १३ । जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले गरिरहेको आमहड्तालका कारण सर्वसाधारण जोखिममा परेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उतर दक्षिणा ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गर्न निर्देशन दिएका हुन् । सोमबार एक विज्ञप्ति जारी गरी उनले उनले चोहर्वादेखि सिरहा सडक खण्डको पि.के.राज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) तथा सो मार्गसमेत तथा ५०० मिटर पूर्व पश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन् ।

विज्ञप्तिमा मंगलबार र बुधबार बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘जनमत पार्टीले केही दिन अघिदेखि सिरहा जिल्लामा गरिरहेको आमहड्ताल र चक्काजामका कारण सर्वसाधारणमा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर राखी मिति २०७८/०९/१३ र १४ गते सम्मका लागि बिहान ५ः०० बजेदेखि बेलुका ७ः ०० बजे सम्म कुनै किसिमको भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (२) र (३) बमोजिम देहायका क्षेत्रहरुमा निषेधाज्ञाको आदेश जारी गरिएको छ ।’

विज्ञप्तिमा भनिएको छ : ‘उक्त अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सुचारु रहने छ । आदेश उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने व्यहोरा समेत सूचित गरिन्छ ।’

कमेन्टहरु