सिरहाको लाहान नगरपालिकाको बारेमा संक्षिप्तमा


बिनोद मण्डल
सिराहा, पुष १२ । सिराहा जिल्लाको प्रमुख शहरको रूपमा रहेको लहानलाई विक्रम सम्वत २०३२ सालमा नगरपालिका बनाइयो । लहान नगरपालिका प्रदेश नं २ को पूर्व पश्चिम राजमार्गसंगै जोडिएको प्रमुख बाणिज्य केन्द्र भएको शहर हो ।
तत्कालीन अवस्थामा लाहान बजार, लाहान गोठ र मटीयर्वा लगायतका गाउँ पञ्चायतलाई मिलाएर लहान नगरपालिका बनाइएको थियो । यसको पूर्वमा बलान नदी, पश्चिममा धनगढीमाई नगरपालिकाको सरस्वती नदी, उत्तरमा उदयपुर जिल्ला र दक्षिणमा सखुवा ननकारकट्टी रहेको छ ।
लहानमा माडवारी, थारु, गुप्ता, यादव, धानुक, पण्डित र कोइरी आदि जातजातिको बसोबास रहेका छन् । लहान नगरपालिकाको करिब ५ किलोमीटर पश्चिममा राजा सलहेसको फूलवारी रहेको छ, जहाँ प्रत्येक बर्षको बैशाख १ गते मेला लाग्ने गर्दछ ।
त्यसैगरी दक्षिणमा ब्रह्मामान गोडछारी, उत्तरमा बाशाजोरी पाकडिया गड, माणिक दह र ढोडना थान मुख्य पर्यटकीय क्षेत्र मानिन्छ । लहानमा प्राविधिक शिक्षालय, लहान क्याम्पस र चौधरी आँखा अस्पताल लगायत प्रशासनिक कार्यालयहरू रहेका छन् ।
कुल १६७.१७ वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको लहान नगरपालिकामा २४ वडाहरू रहेका छन् भने गाढा, गोविन्दपुर, बस्तीपुर, मलहनमा लगायतको गाविसलाई समहित गरेर लाहान नगरपालिका बनाइएको हो । आधुनिकता सँगै लाहान नगरपालिकाको विकास तीव्र गतिमा बढेको देखिँदैन ।






















