भक्तपुरको दुधपाटीमा तामाङ लोकसाहित्यसम्बन्धी गोष्ठी सम्पन्न


काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभाग, भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग तथा साहित्य (मातृभाषा) विभागले ममता केन्द्र नेपालसँगको सहकार्यमा भक्तपुरको दुधपाटीमा आयोजना गरिएको ‘ताम्बा दर्शन, तामाङ भाषा’ एवम् ‘तामाङ लोकसाहित्य’ विषयमा विचार–गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा ताम्बा दर्शनसम्बन्धी डा. अमृत योञ्जन, तामाङ मातृभाषासम्बन्धी अजितमान तामाङ र तामाङ लोकसाहित्यसम्बन्धी निष्णु थिङ लगायतले गोष्ठीपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका सदस्य सचिव एवम् दर्शनशास्त्र विभागका प्रमुख प्रा जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ले अरुका भाषा तथा संस्कृतिलाई सम्मान गर्दै आफ्नो भाषा तथा संस्कृतिको संरक्षणमा सबै लागिपर्नु पर्नेमा जोड दिए ।
उनले ताम्बा दर्शन, तामाङ मातृभाषा र तामाङ लोकसाहित्यमा तामाङ जाति विशिष्ट रहेको धारणा व्यक्त गरे । प्रज्ञा–प्रतिष्ठान, भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग प्रमुख प्रा डा योगेन्द्रप्रसाद यादवले दर्शन, मातृभाषा तथा लोकसाहित्य कुनै पनि जाति÷समुदायको पहिचान भएको र त्यो लोप भए सभ्यता र ज्ञानको क्षेत्र नै लोप हुने हुनाले त्यसको संरक्षण र सम्बद्र्धनका लागि सम्बन्धित पक्ष सचेत हुनुपर्नेमा जोड दिए । उनले लोकसाहित्यलाई डिजिटल आर्काइभमा सुरक्षित गरिनुपर्ने बताए ।
प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभाग प्रमुख लक्ष्मी मालीले आफ्नो मातृभाषा, संस्कृति तथा लोकसाहित्यको संरक्षण तथा सम्बद्र्धनका लागि सबैले आआफ्नो घरमा अनिवार्य मातृभाषा प्रयोग गर्नुपर्नेमा जोड दिइन् । यस्तै ताम्बा सङ्घका अध्यक्ष पासाङ मोक्तानले ताम्बा दर्शनको संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै तामाङ समुदायमा अनियन्त्रित रूपमा बढिरहेको थरको व्यवस्थापन गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कुमार स्याङ्बो, योगेश राल्फाली, रचना मोक्तान, सीमा तामाङ, भीम बैरागी लगायतका कविले तामाङ भाषामा आ–आफ्ना कविता, गीत प्रस्तुत गरेका थिए ।






















