गोरखामा अबैध सालको काठसहित दुई जना पक्राउ

जगत ठाडा मगर
२०७८ पुस १२ | बिहान ११:०९ बजे

गोरखा, पुस १२ । गोरखामा अबैध सालको काठसहित दुई जना पक्राउ परेका छन । प्रहरीले विधि र प्रक्रिया पूरा नगरी अवैध रुपमा सालको काठ काटेर ओसारपसार गर्ने दुईजनालाई पक्राउ गरेको हो ।
गोरखा नगरपालिका १० वीरेञ्चोकस्थित प्रणामी फर्निचर उद्योगका सञ्चालक भगवान कार्की र ट्याक्टर चालक सोही ठाउँका कृष्ण विकलाई १ सय ४९ थान सालको काठसहित शनिबार राती आठ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
उनीहरुले सो काठ ग १ त ४४७६ नम्बरको ट्रयाक्टरबाट अवैधरुपमा ओसारपसार गरी प्रणामी फर्निचर उद्योगको कम्पाउण्डमा राखेको अवस्थामा फेला पारेको प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए ।
बरामद गरिएको अबैध काठ र पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय गोरखामा बुझाइएको इन्स्पेक्टर अधिकारीले जानकारी दिए ।






















