राजनीति

प्रचण्डको प्रशंसा गर्दै वामदेवले वक्तव्य नै जारी गरि भने, भव्य र सुसस्कृत देखिनुभयो

जगत ठाडा मगर
२०७८ पुस १२ | बिहान ११:०९ बजे

काठमाडौं, पुस १२ । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मुक्तकण्ठले प्रशंसा गरेका छन् । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा प्रचण्डको भाषणलाई लिएर नेता गौतमले उनको प्रशंसा गरेका हुन्।

भाषणमा कुनैपनि पार्टी र नेतामाथि दुर्वचन प्रयोग नभएको, सभ्य र भव्य मन्तव्य दिएका कारण प्रचण्डको प्रशंसा गरेका हुन् । उनले वक्तव्य नै जारी गरेर माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सफलताको कामना गर्दै प्रचण्डको प्रशंसा गरेका हुन्।

उनले कतिपय नेताहरु आफ्नो भाषणमा अरुको आलोचना मात्रै गर्ने भएपनि प्रचण्ड त्यसभन्दा फरक रहँदै सुसंस्कृत र भव्य देखिएको टिप्पणी गरेका छन् । ‘माओवादी आठौं राष्ट्रिय महाअधिवेशन उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले शुभकामना दिने सबै अतिथिहरुको मुक्तकण्ठले प्रसंसा गर्दै धन्यवाद दिनुभयो,’ गौतमले लेखेका छन्, ‘आफ्ना विचार पनि संक्षिप्त रुपमा र तर्कयुक्त राख्नुभयो। उहाँको मन्तव्यमा एउटा पनि दुर्वचन थिएन।’

उनले थपेका छन्, ‘कतिपय पार्टीका नेता दुर्वचनवाट आफ्नो मन्तव्य शुरु गर्छन् र दुर्वचनवाटै मन्तव्य अन्त्य गर्छन्। उनको तुलनामा प्रचण्ड अत्यन्त सुसंस्कृत र भव्य देखिनुभयो। प्रचण्डजीलाई धेरै धेरै बधाई र धन्यवाद दिन्छु।’

कमेन्टहरु