सप्तरीमा ५२ वर्षीय महिलाको हत्या


सप्तरी, १२ पुस । सप्तरीमा एक महिलाको हत्या गरिएको आवस्थमा शव फेला परेको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बरही विरपुरमा महिलाको घाँटी रेटेर हत्या गरिएको छ ।
स्थानीय जमाहर यादवकी ५२ बर्षीया श्रीमती भुटनि देवी यादवको हत्या भएको सप्तरी प्रहरीले जनाएको छ । आइतबार बेलुका घरबाट गहुँ खेतमा खरानी फाल्न गएकी यादव अबेर रातिसम्म घर नफर्केपछि घरपरिवारका सदस्यहरुले खोजी शुरु गरेका थिए ।
आज (सोमबार) बिहान उनको शव खेत नजिकै फेला परेको हो । घटनाको प्रकृति देख्दा उनको बियर बोतलले टाउकोमा हानेर हत्या गरेको हुन सकिने प्रहरीको अनुमान छ । घटना स्थलमा तीन वटा बियरको बोतल मध्ये दुईवटा फुटेको छ भन्ने अर्काे फालिएको भेटिएको छ ।
उनलाई हत्याराहरुले लछार पछार गरि उनले लगाएको नाकको फुली सहित अन्य गरगहना पनि लुटेको पीडित परिवारजनले बताएका छन् । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले बताए ।






















