खेलकुद

‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाइजलाई हराउँदै संकटा तेस्रो स्थानमा

जगत ठाडा मगर
२०७८ पुस १२ | बिहान ०९:०९ बजे

काठमाडौ । संकटा क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब माथि ३–० को सहज जित हात पारेको छ । संकटाको जितमा उत्तम राईले दुई तथा लक्ष्मण रुचालले एक गोल गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको खेलको १२औँ मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई १–० को अग्रता दिलाए । २८औँ मिनेटमा उत्तम राईले व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको अग्रता दोब्बर पारेका थिए । ३८औँ मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई ३–० को अग्रता दिलाए ।

जितसँगै संकटा ६ खेलबाट १२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । संकटाले एक खेल कम खेलेको आर्मीलाई तीन अंकले पछि पारेको हो । पराजित ब्रिगेड ६ खेलबाट पाँच अंक जोडेर ११औँ स्थानमा छ ।

आइतबार नै भएको अर्को खेलमा आर्मी र थ्री स्टारले गोलरहित बराबरी खेलेको थियो । बराबरीपछि आर्मीले ५ खेलमा १० अंक जोडेको छ । आर्मी चौंथो स्थानमा रहेको छ ।

कमेन्टहरु