नेपाली महिला टोली एभीसी एशियन सेन्ट्रल जोन भलिबलको फाइनलमा प्रवेश


काठमाडौ । नेपाली राष्टिय महिला भलिबल टोली बंगलादेशमा जारी एभीसी एशियन सेन्ट्रल जोन भलिबलको फाइनलमा प्रवेश गरेको छ ।
नेपालले उज्वेकिस्तानलाई हराउँदै फाइनल प्रवेश गरेको हो । ढाकामा आइतबार उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
साविक विजेता समेत रहेको नेपालले उज्वेकिस्तानमाथि २५–२०, २५–२३ र २५–१४ को जित निकाल्यो ।
नेपालको यो लगातार चौंथो जित हो । यस अघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ सेटमा हराएको थियो ।
दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा बंगलादेशलाई ३–० को सेटमा हराएको थियो ।
नेपालले ४ खेलमा ११ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ । उज्वेकिस्तानको ९ अंक रहेको छ । उज्वेकिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ । नेपालले अन्तिम खेलमा सोमबार (आज) किर्गिस्तानको सामना गर्नेछ ।
महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ टोली सहभागी छन्। प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीले स्वर्ण पदकका लागि स्पर्धा गर्नेछन्। तेस्रो र चौथो स्थानमा रहने टोलीले कास्य पदकका लागि खेल्नेछन्। फाइनल खेल मंगलबार हुनेछ।






















