सिरहामा जनमत पार्टीको आमहडतालमा व्यापक अराजकता


विनोद मण्डल
सिरहा । जनमत पार्टीद्वारा आह्वान गरिएको आमहडतालमा प्रहरीद्वारा व्यापक दमन भएको छ भने दर्जनौं गाडी तोडफोड र आगजनी भएको छ ।आन्दोलनको क्रममा १२ जना पार्टीका कार्यकर्ता पक्राउ परेका छन् ।
आन्दोलनको क्रममा प्रहरीले अन्धाधुन्द लाठी चार्ज र दर्जन बढी राउण्ड अश्रु ग्याँस प्रहार गरेका थिए । पूर्व पश्चिम राजमार्गमा गरेको आमहडतालमा आन्दोलनकारीले सवारी साधन तोडफोड र आगजनी गरेको आरोपमा १२ जना जनमत पार्टीका कार्यकर्ता पक्राउ गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताउनु भएको छ ।

सिरहाका विभिन्न गाउँ गाउँबाट सडकमा आन्दोलन र जुलुस लिएर आएका कार्यकर्ताहरु हाथमा लाठी लिएर प्रहरी प्रशासन मुर्दावाद, शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप बन्द गर, पक्राउ परेका किशानको अभिलम्ब रिहा गर जस्ता चर्का नारा लगाउँदै प्रहरीमाथि ढुंगामुढा गरेका थिए ।
पूर्व घोषित कार्यक्रमलाई अवज्ञा गरेको भन्दै आन्दोलनकारीले पूर्व पश्चिम राजमार्गको मिर्चैया, चोहर्वा, गोलबजार, लाहान लगायत सिरहाको मुख्य सहरी क्षेत्रमा दर्जनौं सवारी साधन तोड्फोड र आगजनी गरेका छन् । बन्दको प्रभावले गर्दा शैक्षिक संस्था, उद्योग, कलकारखाना, बजार पूर्णतया ठप्प रहेको छ । सिरहादेखि स्कटिङमा प्रहरीले सवारी साधनलाई जिल्ला कटाईरहेका छन् ।
सिरहाको औंरही गाउँपालिकामा किसानहरूले गहुँको बीउ लुटेको भन्दै चार जना किसानमाथि जिल्ला प्रशासन कार्यालय सिरहामा मुद्दा दायर गरेका छन् भने एक जना किसान कारीराम यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । किसानको लागि पूर्ण अनुदानमा आएको गहुँको बीउ गाउँपालिकाको चरम लापरवाहीका कारण समयमा व्यवस्थापन नगरेको भन्दै आक्रोशित स्थानिय किसानहरूले गोदामबाट आफै बीउ लिएर गएका थिए ।
प्रहरी प्रशासनद्वारा गिरफ्तार किसानको बिना सर्त रिहा गर, किसान ऊपर लगाइएको झुठा मुद्दा फिर्ता गर, किसानको लागि समयमै मल, बीउ र खाद्यको व्यवस्था गर, स्थानीय निकायमा भएको भ्रष्टाचारको छानबिन गरी दोषीलाई जेल चलान गर जस्ता नारा लगाई पुस ११ गते आईतबार सिराहा जिल्लामा आम हडतालको आह्वान गरेको आन्दोलन समिति सिरहाका पवन यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बन्दको प्रभावले बिहानदेखि सडकमा प्रदर्शन भएका छन् भने सडकमा गन्तव्यको लागि हिँडेका यात्रुहरु दिनभरि अलपत्र परेका छन् । जाडोको मौसम भएकोले करिब ४ बजेको समयदेखि फाट्टफुट्ट गाडीहरु चलेका छन् । बजारको चोकहरुमा नेपाल प्रहरी, सस्त्र प्रहरीले कडा सुरक्षा दिइरहेको अवस्था छ ।






















