पार्टी र नेता बदलिए मात्रै समाजवादमा पुग्न सकिने नारायणकाजी श्रेष्ठको दाबी


काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी र नेताहरु बदलिएमात्रै आर्थिक सामाजिक रुपान्तरण हुदै समाजवादमा पुग्न सकिने बताएका छन् । पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै नेता श्रेष्ठले खासगरी जनताको अपेक्षा अनुसार प्राप्त उपलब्धिलाई जोगाउँदै नेता र पार्टीहरू बदल्न जरुरी रहेको बताए ।
नेपाली जनताले भनेका छन् कि नेपाललाई बदल्न राजनीतिक पार्टीहरू बदलिउन्, नेताहरु बदलिउन्, नेपाली जनताले आज भनेको मुख्य कुरा नै यही हो’, श्रेष्ठले भने, ‘पार्टी र नेताहरु बदलिए र कमजोरिहरु सच्चाएमात्रै सामाजिक आर्थिक रुपान्तरण, देशको समृद्धि र त्यसको प्रतिफल आम जनतालाई दिने र समाजवादको आधार तयार गर्न सक्छौ । त्यो कुरा हामी गम्भीरतापूर्वक अगाडि बढ्नुपर्ने आवश्यक्ता छ ।’
नेता श्रेष्ठले समाजलाई बदल्ने अपेक्षासहित आफुहरुले महाधिवेशनमा छलफल गरिरहेको समेत बताए । उनले पार्टीको महाधिवेशन औपचारिकता पुरा गर्न मात्रै नभई विचार र पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यसहित आयोजना गरिएको बताए । साथै उनले सच्चा क्रान्तिकारी कम्युनिस्टहरूका बीचमा एकता गर्ने संकल्प समेत महाधिवेशन आयोजना गरिएको बताए ।






















